• ८ साउन २०८१, मङ्गलबार

गोरखामा ८५ लाख ७१ हजार राजस्व सङ्कलन

blog

जिल्ला ट्राफिक कार्यालय, गाेरखा ।

गुणबहादुर रोका 

सुलीकोट, साउन ८ गते । गोरखामा ट्राफिक प्रहरीले एक वर्षको अवधिमा करिब ८५ लाख ७१ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट कारबाही तथा जरिवाना गरी राजस्व रकम असुल गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिव पाठकले जानकारी दिनुभयो । 

उहाँका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि असार मसान्तसम्ममा १० हजार ४ सय ७४ वटा विभिन्न सवारीसाधन कारबाहीमा परेका छन् । जसमध्ये सबै भन्दा बढी मोटरसाइकल ४ हजार ९ सय १८, जिप, कार र भ्यान २ हजार ३ सय ७१ वटा, १ हजार ६३७ वटा ट्रक, टिपर तथा ८६४ वटा बस र ६६६ वटा टयाक्टर सवारीसाधन जरिवाना तथा कारबाहीबाट कुल ८५ लाख ७१ हजार रुपियाँ राजस्व रकम असुल भएको जिल्ला ट्राफिक प्रमुख पाठकले बताउनुभयो । 

गोरखामा अत्यधिक मात्रामा बिना लाइसेन्स सवारीसाधन चलाउने, बिलबुक नबोक्ने र लापरबाही तरीकाबाट ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरी जरिवाना गरिएको ट्राफिक प्रमुख पाठकको भनाइ छ । 

गोरखामा सबैभन्दा बढी कारबाही मोटरसाइकल नियम उल्लङ्घन गरेबापत कारबाही गरेको पाइन्छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कसुर हेरी ५०० देखि ५००० सयसम्म जरिवाना गर्ने गरिएको छ । 

गत आर्थिक वर्षमा १० हजार ३०० सवारीसाधन कारबाहीमा पर्दा ट्राफिक प्रहरीले ७६ लाख ३० हजार राजस्व सङ्कलन गरेको थियो भने २०८०-०८१ मा १० हजार ४ सय ७४ सवारीसाधन कारबाहीबाट ८५ लाख ७१ हजार राजस्व रकम सङ्कलन गरेको छ । गत आर्थिक वर्षभन्दा २०८०-०८१ मा सवारीसाधन र राजस्व रकम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।