• ७ साउन २०८१, सोमबार

अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ : अर्थमन्त्री पौडेल

blog

उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल

काठमाडौँ, साउन ७ गते । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ । सोमबार मन्त्रालयमा नेपाल होटल सङ्घ (हान) का पदाधिकारीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने बताउनुभयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने जानकारी दिनुभयो ।

‘‘यहाँहरूले राख्नुभएका समस्याहरूमध्ये मौद्रिक नीतिमा छलफल चलिरहेको छ । केही दिनभित्र टुङ्गोमा पुग्छ । सामान्यतया अहिलेको क्राइसिसलाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने धेरैतिरको अपेक्षा छ । विमानस्थल सञ्चालन गर्नेकुरामा केही बैठक बसेर त्यो सञ्चालनमा जान सकिन्छ । जानुपर्छ, जाने नै हो । अलिकति अलिकति ढिलो भएको छ ।,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘हामी भर्खर त आइपुग्यौँ । यसलाई हामी गम्भीरताका साथ लिन्छौँ । होटललाई उद्योगको मान्यता भनेको त उतिबेलै हामीले निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो । त्यसको निरन्तरता हुनुपर्दथ्यो । नीति निरन्तरताको धेरै ठुलो अर्थ हुन्छ ।’’

मन्त्री पौडेलले होटललाई उद्योगको मान्यता दिनेकुरामा सरकार गम्भीर रहेको पनि बताउनुभयो । उहाँले नीतिको निरन्तरता हुन नसक्दा समस्या पैदा भएको जिकिर गर्नुभयो ।

अर्थमन्त्रीसँगको भेटमा नेपाल होटल सङ्घ (हान) का अध्यक्ष विनायक साहले ३०÷३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भए पनि बर्सेनि १० लाखभन्दा बढी पर्यटक नआएको भन्दै धेरैभन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गर्नुभयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । सडक पूर्वाधारहरू सुरक्षित नहुँदा पनि पर्यटकहरू नेपाल आउन नचाहने गरेको बताउनुभयो ।

‘‘हामी ३०/३५ लाख पर्यटकलाई सेवा दिनसक्छौँ तर हामी कहाँ १० लाखको हाराहारीमा पर्यटक आउनु हुन्छ । हामीसँग दुई वटा एयरपोर्ट तयार भएको छ तर सञ्चालनमा आएको छैन । विभिन्न स्थानको सडक राम्रो नहुँदा मानिसहरू आउन चाहेका छैनन् ।,’’ अध्यक्ष साहले भन्नुभयो, ‘‘आउँदो मौद्रिक नीतिमा बैङ्कबाट लिएको ऋण तिर्ने समय केही थप गरिदिन आग्रह गर्छु । कालोसूचीमा राखिदिन्छ, लिलाम गरिदिन्छ । हामी पलायनको अवस्थामा छौँ । दुई विमानस्थल चलाउनसके हामीले भारतीय र चिनियाँ पर्यटक धेरै ल्याउन सक्छौँ । होटललाई उद्योगको मान्यता दिनुपर्छ ।’’

अध्यक्ष साहले होटल व्यवसायीहरूले बैङ्कबाट लिएको ऋण तिर्ने समय आउँदो मौद्रिक नीतिबाट थप गरिदिन आग्रह गर्नुभयो ।