• ७ साउन २०८१, सोमबार

संविधानको मूल मर्मलाई नखुम्च्याईकन संशोधन हुन्छ : सांसद महत

blog

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महत वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्नुहुँदै ।

काठमाडौँ, साउन ७ गते । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधान संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद महतले संविधान संशोधनको नाममा समावेशितामा कुनै सम्झौता नहुने जिकिर गर्नुभयो । उहाँले समावेशिता सुनिश्चित गर्ने अझ राम्रा उपायहरू रहेको उल्लेख गर्नुहुँदै समावेशितालाई कटौती गर्ने नभई हरेक वर्ग, समूहका व्यक्तिलाई प्रत्यक्ष रूपमा जनतामा गएर निर्वाचित भई आउने व्यवस्था गर्ने बताउनुभयो ।

‘‘संविधान संशोधनको कुरा उठिरहेको छ । त्यो पनि एउटा भाष्य के सिर्जना गर्न खोजिरहेको छ भने संविधान संशोधन भनेपछि प्राप्त भएको अधिकार खोस्न थाले यिनीहरू मिलेर भन्ने छ । त्यो हुँदै होइन । हामी अधिकारलाई घनिभूत गर्न चाहन्छौँ । समावेशितालाई हामी कम्परमाइज गर्दैनौँ । तर समावेशिता सुनिश्चित गर्ने अझ वेटर उपायहरू छन् । अझ राम्रो तरिकाहरू छन् । त्यो राम्रो तरिका हामीले अपनाउने हो । त्यसमा हामीले समावेशितालाई कटौती गर्ने होइन ।,’’ सांसद महतले भन्नुभयो, ‘‘तर कहाँनेर हाम्रो अझ भाइब्रेण्ट सहभागिता हरेक वर्ग, समूहको प्रत्यक्ष रूपमा जनतामा गएर निर्वाचित भएर आएर यो मेरो क्षेत्र हो, यहाँबाट म प्रतिनिधित्व गर्दछु भनेर आउनलाई सुनिश्चित गर्ने तरिकाहरू छन् । महिलाहरूको एक तिहाइ सुनिश्चितता गर्न त्यसरी पनि सकिन्छ । दलितको जनसङ्ख्याअनुसार त्यसरी सुनिश्चित गर्न सकिन्छ । अरू वर्गको पनि त्यसरी सहभागिता सुनिश्चित गर्न सकिन्छ । वर्तमान संविधानको मूल मर्म र भावनालाई नखुम्च्याईकन, कमजोर नगरीकन संशोधन र सुधार गर्नसक्छौँ ।’’

उहाँले वर्तमान संविधानको मूल मर्म र भावनालाई नखुम्च्याईकन, कमजोर नगरीकन संशोधन र सुधार गर्न सकिने जिकिर गर्नुभयो । उहाँले नेकपा (एमाले) र कांग्रेससँगको सत्ता सहकार्य जटिल र आवश्यक रहेको बताउनुभयो । उहाँले परिस्थितिका कारण दुई ठुला पार्टी एक ठाउँमा हुन परेको बताउनुभयो । समाजवाद, लोकतन्त्र, कानुनी शासनको सुनिश्चिततामा सरकारले ध्यान दिने पनि बताउनुभयो । उहाँले पार्टी र व्यक्तिभन्दा माथि उठेर देश र जनताका लागि काम गर्नुपर्ने बताउनुभयो ।

‘‘अहिले एमालेसँग मिलेर हाम्रो सरकार बनेको छ । हामी प्रतिस्पर्धी पार्टी पनि हौँ । त्यसअर्थमा हाम्रो सम्बन्ध जटिल पनि छ । सहकार्य जटिल पनि छ । तर परिस्थितिले यो आवश्यक बनिरहेको छ । परिस्थितिले त्यहाँ हामीलाई उभ्याइरहेको छ । त्यसैले जब हामी संविधानको कुरा गर्दछौँ । समाजवादको कुरा गर्दछौँ, लोकतन्त्रको कुरा गर्दछौँ, यो कानुनी शासनको हरेक मुद्दामा नेपाली कांग्रेसले अक्षरशः कसरी सरकारमा बसेर त्यसको सुनिश्चित गर्ने, सुशासन कसरी सुनिश्चित गर्ने, कसरी पार्टी र व्यक्तिभन्दा माथि उठेर हामीले देश र जनताप्रति समर्पित भएर काम गर्ने, यो कुरामा सहयात्री दललाई पनि हाम्रो यो काममा एक ठाउँमा हुनुपर्छ ।,’’ सांसद महतले भन्नुभयो, ‘‘सात बुँदेमा पनि देखिएको छ । पार्टी र व्यक्तिगत कुराबाट माथि उठ्नु धेरै ठुलो चुनौती छ । तर आवश्यकता हो । त्यसको बिचमा काम गरिरहेका छौँ ।’’

सांसद महतले आर्थिक उन्नति, रोजगारी देशमै सिर्जना गर्ने वातावरण वर्तमान सरकारले निर्माण गर्ने दाबी गर्नुभयो ।