• ७ साउन २०८१, सोमबार

किसानलाई अनुदानमा ई-लोडिङ अटोरिक्सा वितरण

blog

बाँके बैजनाथका किसानलाई ई–लोडिङ अटोरिक्सा हस्तान्तरण गर्दै पालिका प्रमुख शाही । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन ७ गते । बाँकेको बैजनाथ गाउँपालिकाले स्थानीय किसानलाई ७० प्रतिशत अनुदानमा कृषि उत्पादन ढुवानी गर्ने ई–लोडिङ अटोरिक्सा वितरण गरेको छ । 

गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०-०८१ को वार्षिक बजेटमार्फत ११ वटा कृषक समूह तथा फर्मलाई ई–लोडिङ अटोरिक्सा वितरण गरेको हो । 

बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले ई–लोडिङ अटोरिक्साको चाबी सम्बन्धित किसानहरूलाई हस्तान्तरण गर्दै पालिकाका अधिकांश मानिस कृषिमा निर्भर रहेकोले स्थानीय सरकारले किसानको उत्पादन बढाउन तथा बजारीकरणका लागि विशेष रूपमा जोड दिँदै आएको बताउनुभयो ।

गाउँपालिकाले हरेक वर्ष किसानसँग पालिका प्रमुख कार्यक्रममा ठुलो परिमाणमा बजेट विनियोजन गर्दै आएको जनाउँदै उहाँले किसानले आफ्ना कृषि उत्पादनलाई सहज रूपमा ढुवानी गर्न सकुन् भन्ने उद्देश्यले विभिन्न कृषक समूहलाई ई–लोडिङ अटोरिक्सा वितरण गरिएको बताउनुभयो । कृषि उत्पादनलाई कोहलपुर र नेपालगन्ज पुर्‍याउन समस्या हुने गरेकोमा ई–लोडिङ अटोरिक्सा पाएपछि अब सहज हुने बैजनाथ गापाका कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले बताउनुभयो । 

उहाँले ढुवानीका साधनको अभावमा धेरै किसानले आफ्नो उत्पादनलाई  नजिकको बजारसम्म पुर्‍याउन नसकेको जानकारी पाएपछि यो वितरण गरिएको बताउनुभयो । ई–लोडिङ अटोरिक्सा पाएका किसान र समूहले आफ्नो उत्पादनलाई ढुवानी गर्नुका साथै अन्य किसानको उत्पादनलाई पनि भाडामा ढुवानी गर्नसक्ने हुँदा समूहको आय समेत वृद्धि हुने कृषि शाखा प्रमुख विश्वकर्माले बताउनुभयो ।