• ४ साउन २०८१, शुक्रबार

सरकारको काम चुस्त बनाउन समिति गठन

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, साउन ४ । सरकारले मन्त्रिपरिषद्को पाँच समिति गठन गरी संयोजकको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिनुभएको जानकारीअनुसार कार्यक्षेत्रका आधारमा बैठकले संयोजक तोकेको हो । बैठकले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई महत्वपूर्ण समितिको संयोजकको जिम्मेवारी दिएको छ ।

राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंह र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री पौडेललाई संयोजक तोकेको छ ।

यस्तै, प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखकलाई जिम्मेवारी तोकिएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै, नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६ औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।