एक्काइसौँ शताब्दीको विश्व राजनीतिमा कुनै पनि देशको शक्ति केवल उसको सैन्य बल वा आर्थिक सूचकाङ्कमा मात्र मापन गरिँदैन । वर्तमान युगमा (सफ्ट पावर) अर्थात् आफ्नो विचारधारा, संस्कृति र छविका माध्यमबाट अरूलाई प्रभावित पार्न सक्ने क्षमता नै वास्तविक शक्ति हो भन्ने यथार्थता उजागर भइसकेको छ । यस्तो शक्ति निर्माणको सबैभन्दा ठुलो माध्यम भनेको विश्वव्यापी सञ्चार माध्यम हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले राष्ट्रहरूको भौगोलिक सिमानालाई मात्र होइन, उनीहरूको पहिचान र अस्तित्वलाई समेत पुनर्परिभाषित गरिरहेका छन् । नेपाल जस्ता देश र भूराजनीतिक रूपमा संवेदनशील राष्ट्रका लागि बाह्य सञ्चार माध्यमले निर्माण गर्ने भाष्य (न्यारेटिभ्स्) हरू नै अन्तर्राष्ट्रिय स्तरमा देशलाई हेर्ने र बुझ्ने मुख्य आँखीझ्याल बनेका छन् । विडम्बनाको कुरा के छ भने, विश्वव्यापी सञ्चार माध्यमको यो (लेन्स) सधैँ स्वच्छ र निष्पक्ष हुँदैन, यसमा प्रायः शक्तिशाली राष्ट्रहरूको स्वार्थ र बजार मागको रङ्ग मिसिएको हुन्छ । उनीहरूले चाहे अनुसार भाष्य, व्याख्या, विवशता र व्यवस्था निर्माण गरिदिएका हुन्छन् ।
ऐतिहासिक विरासत र चित्रणको कैदमा नेपालको अन्तर्राष्ट्रिय छविको निर्माण प्रक्रियालाई बुझ्न केही दशक पछाडि फर्कनुपर्ने हुन्छ । पश्चिमी अन्वेषक, पर्वतारोही र लेखकहरूले नेपाललाई एक आध्यात्मिक केन्द्र, सगरमाथाको देश र कहिल्यै कसैको उपनिवेश नभएको बहादुर गोर्खालीको भूमिका रूपमा चित्रित गरे । यो चित्रणले नेपाललाई विश्वमाझ एउटा विशिष्ट पहिचान त दिलायो तर यसको एउटा नकारात्मक पक्ष पनि रह्यो । यसले नेपाललाई एक आधुनिक र प्रगतिशील राष्ट्रका रूपमा भन्दा पनि एउटा स्थिर सांस्कृतिक अवशेषका रूपमा स्थापित गरिदियो । विश्वव्यापी मिडियाले नेपाललाई सधैँ हिमाल, गुम्बा र परम्परागत जीवनशैलीको घेराभित्र मात्र देख्न चाह्यो र आफ्ना मिडियामा सोही विषयलाई मात्र परिस्कृत गरिरह्यो । यसले नेपालको राजनीतिक चेतना, लोकतान्त्रिक सङ्घर्ष र आर्थिक विकासका आकाङ्क्षा बाह्य संसारका लागि सधैँ ओझेलमा पारिरहे । नेपाल केवल पर्यटकका लागि घुम्ने ठाउँ मात्र हो, यहाँका मानिसको आफ्नै कूटनीतिक, राजनीतिक र आर्थिक एजेन्डा छन् भन्ने विश्वव्यापी भाष्यमा कहिल्यै प्राथमिकतामा पारेन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यममा नेपालको उपस्थिति घटना प्रधान (एपिसोडिक) मात्र हुने गरेको छ । यसको अर्थ यो हो कि नेपालमा जब कुनै ठुलो विपत् आउँछ वा राजनीतिक उथलपुथल हुन्छ, तब मात्र विश्वका ठुला समाचार संस्थाहरूको क्यामेरा नेपालतिर सोझिन्छ । विशेष गरी सन् २०१५ को विनाशकारी भूकम्पका बेला नेपालले पाएको विश्वव्यापी कभरेज र युवापुस्ता (जेनजी) आन्दोलनको समयमा भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमको उपस्थिति यसका ज्वलन्त उदाहरण हुन् । उक्त समयमा नेपालको मानवीय पक्षलाई उजागर त गरियो तर त्यससँगै नेपाललाई एउटा सधैँ सहायताको पर्खाइमा रहेको कमजोर भ्रष्टाचार मात्र हुने राष्ट्रका रूपमा चित्रितसमेत गरियो । सञ्चारशास्त्रमा यसलाई डिजास्टर पोर्नोग्राफीको एक रूप मानिन्छ, जहाँ सङ्कट र पीडालाई बढी प्राथमिकता दिइन्छ ताकि दर्शकको सहानुभूति बटुल्न सकियोस् । यसले गर्दा विश्व समुदायमा नेपालको छवि एक अक्षम र परनिर्भर देशका रूपमा निर्माण भएको छ । भूकम्पपछि नेपालले गरेको पुनर्निर्माण, स्थानीय समुदायको लचिलोपन र आफ्नै स्रोतसाधनबाट उठ्ने प्रयासलाई अन्तर्राष्ट्रिय मिडियाले निकै कम स्थान दिएको पाइन्छ । फलस्वरूप, विश्वव्यापी लगानीकर्ता र कूटनीतिज्ञमा नेपाललाई हेर्ने दृष्टिकोण जोखिमपूर्ण मात्र रहन गयो, जसले गर्दा प्रत्यक्ष वैदेशिक लगानी र दीर्घकालीन साझेदारीमा असर पुगिरहेको छ । उनीहरूले मात्र होइन नेपाली केही मिडियाले समेत यथार्थपरक भन्दा एपिसोडिक प्रचारबाजीलाई थप मलजल गर्ने गरेको पाइन्छ ।
नेपालको अन्तर्राष्ट्रिय छविलाई प्रभावित पार्ने अर्को प्रमुख पक्ष भनेको यसको भौगोलिक अवस्थिति हो । अन्तर्राष्ट्रिय मिडियाले नेपाललाई सधैँ भारत र चीनको चस्माबाट मात्र हेर्ने प्रयास गर्छन् । अधिकांश रिपोर्टिङमा नेपाललाई एउटा स्वतन्त्र पात्रभन्दा पनि दुई ठुला शक्ति राष्ट्रबिचको एउटा मञ्चका रूपमा प्रस्तुत गरिन्छ । जब नेपालले आफ्नो हितका लागि कुनै वैदेशिक सम्झौता वा कूटनीतिक पहल गर्छ, तब विश्वव्यापी सञ्चार माध्यमले त्यसलाई तुरुन्तै चीनको प्रभाव वा भारतको रणनीतिक चिन्तासँग जोडेर व्याख्या गर्ने गर्छन् ।
यस्तो फ्रेमिङले नेपालको रणनीतिक स्वायत्तता र सार्वभौम निर्णय प्रक्रियालाई बेवास्ता गरिरहेको हुन्छ । जसले गर्दा नेपालको आफ्नै परराष्ट्रनीति र यसले विश्व शान्ति वा क्षेत्रीय स्थिरतामा खेल्न सक्ने भूमिकालाई गौण बनाइदिन्छ । नेपालको अन्तर्राष्ट्रिय छवि एउटा असुरक्षित मध्यवर्ती राज्यको रूपमा मात्र सीमित हुन पुगेको अनुभव हुन्छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने, सञ्चार माध्यमले गर्ने यस्ता चित्रणले कतिपय अवस्थामा अन्तर्राष्ट्रिय कूटनीतिक टेबलमा नेपालको बार्गेनिङ पावरलाई समेत कमजोर बनाइरहेको हुन्छ, जुन अहिले हामीले नेपालका उच्चस्तरीय वैदेशिक भ्रमणमा हुने व्यवहारले यसलाई संसारभर उजागर गरिसकेको छ ।
अहिलेको विश्वमा जलवायु परिवर्तन एक प्रमुख मुद्दा हो र यसमा नेपालको चर्चा अनिवार्य हुनुपर्ने हो । हिमाली देश हुनुको नाताले नेपाल जलवायु परिवर्तनको असर पर्ने राष्ट्रको अग्रपङ्क्तिमा छ । अन्तर्राष्ट्रिय मिडियाले नेपाललाई जलवायु परिवर्तनको पीडितका रूपमा धेरै प्रस्तुत गरेका छन् । हिमाल पग्लिरहेको, हिमताल विस्फोटको खतरा बढेको र जैविक विविधता सङ्कटमा परेका समाचारले विश्वव्यापी ध्यान त खिचेका छन्, तर यो भाष्य अधुरै छ । नेपाल केवल पीडित मात्र होइन, यो संरक्षणको क्षेत्रमा एक सफल मोडल हुन सक्ने कुरा देखाइँदैन ओझेलमै राखिन्छ । सामुदायिक वन व्यवस्थापनमा नेपालले हासिल गरेको सफलता, शून्य कार्बन उत्सर्जनको प्रतिबद्धता र स्थानीयस्तरमा गरिएका अनुकूलनका प्रयास विश्वका लागि अनुकरणीय हुनुपर्नेमा विश्वव्यापी सञ्चार माध्यमले यी सफलताका कथालाई विरलै स्थान दिन्छन् । जबसम्म हामीलाई केवल पीडितका रूपमा मात्र देखाइन्छ, तबसम्म हामीले जलवायु वित्त र अन्तर्राष्ट्रिय नीति निर्माणमा जति प्रभावकारी भूमिका हुनुपर्ने हो त्यो गर्ने सक्दैनौँ ।
परम्परागत सञ्चार माध्यमको एकाधिकार र नकारात्मक चित्रणलाई चुनौती दिने एउटा नयाँ शक्ति उदय भएको छ, त्यो हो डिजिटल मिडिया र सामाजिक सञ्जाल । आज संसारका जुनसुकै कुनामा रहेका नेपालीले नेपालको वास्तविक छवि विश्वमाझ पस्किरहेका छन् । एउटा पदयात्रीले खिचेको नेपालको सुन्दर भिडियो वा विदेशमा रहेका नेपाली वैज्ञानिकले गरेको प्रगतिले नेपालको ब्रान्ड भ्यालु बढाउन ठुलो मद्दत गरेको छ । नेपाली डायस्पोरा (प्रवासी नेपाली) अहिले नेपालको अघोषित कूटनीतिज्ञका रूपमा उभिएका छन् । उनीहरूले अन्तर्राष्ट्रिय सञ्चार माध्यमका भ्रमपूर्ण समाचारलाई सामाजिक सञ्जालमार्फत प्रतिवाद गर्ने र नेपालका सकारात्मक पक्षहरूलाई उजागर गर्ने काम गर्नुपर्ने अपरिहार्य रहेको छ । सूचना प्रविधिको क्षेत्रमा नेपाली युवाले गरिरहेको प्रगतिले नेपाल केवल हिमालको देश मात्र होइन, यो त प्रतिभा र नवप्रवर्तनको भूमि पनि हो भन्ने सन्देश दिन जरुरी छ । यो डिजिटल लहरलाई राज्यले व्यवस्थित रूपमा प्रयोग गर्न सकेमा बाह्य मिडियाको नकारात्मक प्रभावलाई धेरै हदसम्म कम गर्न सकिन्छ । अन्तर्राष्ट्रिय मिडियाकै कारण नेपालको वैदेशिक नीति यो वा त्यो बहानामा धूमिल बनिरहेको छ र उनीहरूले नेपालका छिमेकी देश भारत र चीनसँगको सम्बन्धको संवेदनशीलतलाई ख्याल गरेको देखिँदैन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमले नेपाललाई कुन लेन्सबाट हेर्छ भन्ने कुरा धेरै हदसम्म हाम्रो आफ्नै रणनीतिमा निर्भर गर्छ । अहिलेसम्म नेपालको कूटनीति प्रतिक्रियात्मक मात्र रह्यो । अर्थात् कसैले गलत समाचार लेखेपछि मात्र स्पष्टीकरण दिने परिपाटी बस्यो । अब हामी सव्रिmय हुनुपर्ने बेला आएको छ । हामीले हाम्रा सफ्ट पावरका स्रोत पहिचान गरी तिनलाई विश्वव्यापी बनाउनु पर्छ । संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा नेपालको भूमिका, हाम्रा गौरवशाली संस्कृति, प्राकृतिक विविधता र युवा पुस्ताको डिजिटल क्षमतालाई एकीकृत गरी एउटा बलियो नेसनल ब्रान्डिङ गरिनु पर्छ । सरकारी निकाय, नागरिक समाज र सञ्चारकर्मीले मिलेर नेपालका वास्तविक र सकारात्मक कथालाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमसम्म पु¥याउन पुलको काम गर्नु पर्छ । कुनै पनि देशको अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक नीतिका छवि अरूले कोरिदिने चित्र मात्र होइन, यो त हामी आफैँले विश्वलाई सुनाउने हाम्रो कथा हो । जबसम्म हामीले आफ्ना सफलताका कथा गौरवका साथ आफैँ भन्न सक्दैनौँ, राष्ट्रियतामा गौरब गर्न सक्दैनौँ तबसम्म विश्वले हामीलाई अरूकै अधुरो र भ्रमपूर्ण चस्माबाट हेरिरहने छ । नेपालको वास्तविक र शक्तिशाली पहिचान स्थापित गर्न आफ्नै मौलिक भाष्य निर्माण गर्नु नै आजको प्रमुख कार्य हो ।