बैतडी समाचारदाता
बैतडी, फागुन १५ गते । चुनाव प्रचारका लागि घरदैलो अभियानका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबिच झडप हुँदा एमालेका दुई जना र राष्ट्रिय स्वतन्त्र पार्टीका एक जना घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
बुधबार अपराह्न जिल्लाको डिलासैनी गाउँपालिका–७ को लेकटोलमा चुनाव प्रचारप्रसारको क्रममा दुवै पक्षबिच झडप भएको थियो । डिलासैनी–७ घर भएका एमाले निकट युवा सङ्घका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी घाइते हुनुभएको छ । झडपमा रास्वपा समर्थक लालबहादुर धामी रहनुभएको छ ।
घाइते भएका एमाले कार्यकर्ताको धनगढीमा उपचार भइरहेको छ भने रास्वपाका समर्थक सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज सिंहले बताउनुभयो ।
उहाँले घटनाको अनुसन्धानमा सोधपुछका लागि पाँच जनालाई पक्राउ गरिएको बताउनुभयो । घटना अनुसन्धानकै क्रममा रहेकाले नाम सार्वजनिक गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो । झडपपछि जिल्ला प्रहरी कार्यायबाट प्रहरी निरीक्षकको टोली डिलासैनीमा छ ।
झडपपछि एमाले र रास्वपाले अलग अलग विज्ञप्ति जारी गर्दै एकअर्कालाई दोष लगाएका छन् । दुवै पक्षले घटनामा संलग्नको पहिचान गरी कारबाहीको माग गरेका छन् ।
एमाले र रास्वपाबिच झडप भएको अघिल्लो दिन मङ्गलबार डिलासैनी गाउँपालिकाकै गन्नामा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रचारकबिच विवाद भएको थियो । नेकपाका उम्मेदवार परमानन्द भट्ट डिलासैनी पुग्दा त्यहाँ दुवै पक्षबिच सामान्य विवाद भएको थियो । अप्रिय घटना नभएको नेकपाका नेता प्रतीक कुँवरले बताउनुभयो ।
सुरक्षा व्यवस्था कडा
निर्वाचन नजिकिँदै जाँदा झडपको स्थिति आएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । डिलासैनीमा झडप भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा व्यवस्था थप मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयो ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरीसमेत गरेर दुई हजार सात सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नभुयो, “निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समितिको बैठकपछि राजनीतिक दलसँग पनि बैठक बसेका छौँ । सबै राजनीतिक दलले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आचारसंहिताको पूर्णपालना गर्ने र यस्ता घटना नदोहो¥याउने प्रतिबद्धता जनाएका छन् ।”