• १२ साउन २०८१, शनिबार

सङ्गीत सुनेर पग्रिन्छन् गाई

blog

अनिल पराजुली

हेटौँडा, साउन ४ गते ।

संस्कृतमा एउटा श्लोक छ– 

साहित्य सङ्गीत कलाविहीनः साक्षात्पशुः पुच्छविषाणहीनः ।

तृणं न खादन्नपि जीवमानस्तद्भागधेयं परमं पशूनाम् ।।

अर्थात् साहित्य, सङ्गीत र कला नभएको मान्छे सिङ र पुच्छर नभएको मान्छे सरह हो । जो घाँस नखाएर पनि बाँच्न सक्छ र यो निःसन्देह पशुका लागि शौभाग्यको कुरा हो ।

यसको तात्पर्य पशुमा पनि साहित्य, कला र सङ्गीतको चेत हुन्छ भन्ने पनि हो । श्रीकृष्णको मुरलीको धुनमा गाई मोहित भएको पौराणिक कथाजस्तै आधुनिक संसारमा पनि गाई सङ्गीतले पग्रिने गरेको छ । मकवानपुरको चित्लाङमा रहेको बाख्रा विकास फार्ममा यस्तै घटना देखिन्छ । जहाँ गाई फार्ममा रेडियोमा सुमधुर गीत गुञ्जिन्छ र लठ्ठ भएर गाई उग्राइरहन्छन् । 

त्योभन्दा अर्को रोचक घटना पनि देखिन्छ । दुध दुहुने बेला न त बाच्छाबाच्छी छाडिएका हुन्छन् न माउले नै बाच्छाबाच्छी खोज्छन् । रेडियोमा गीत बजेपछि गाईको कल्चौँडा पग्रिसकेको हुन्छ । गोठमा रहेका १० वटा जर्सी गाई गीत सुन्दा आनन्दित हुन्छन् । बिहान एफएम रेडियोका भजन र आधुनिक गीत बजिरहेका बेला गाई पग्रिन्छन् । साँझ पनि उस्तै हुन्छ । 

बाख्रा विकास फार्म चित्लाङका प्रबन्धक विश्वेश्वरप्रसाद यादवका अनुसार त्यहाँ बाख्रासँगै भेडा, खरायो र गाईपालन गरिएको छ । गाई ब्याउनेबित्तिकै बाच्छाबाच्छी नलगाई रेडियो बजाएर दुहुने बानी पार्ने गरिएको छ । “दुहुने बेला धुन सुनेर सबै गाई दुध दिन तयार हुन्छन्, हामी बाच्छा नलगाई सिधै धुन बजाउँछौँ, त्यही धुन सुनेर गाईले दुध दिन्छन्,” उहाँले भन्नुभयो । त्यस विधिमा सातदेखि १० मिनेटमा गाई पग्रिन्छ । बाच्छाबाच्छीका कारण गाईको थुनमा घाउ र थुनेलो हुने भएकाले त्यो बानी हटाएर सिधै सङ्गीतको धुनमा दुहुने गरेको उहाँको भनाइ छ ।

“बिहान ६ देखि ७ बजेभित्र दुहुन्छौँ, त्यो बेला रेडियोमा भजन बज्छ । दिउँसो साढे ३ देखि साढे ४ बजेसम्म अरू राम्रो धुन बजाउँछौँ,” यादवले थप्नुभयो । दुध दुहुने बेला एकाग्र र तनावमुक्त भएका बेला गाईले क्षमता अनुसारको दुध दिने उहाँको भनाइ छ । मानवदेखि कीराफट्याङ्ग्रासम्म सबै सङ्गीतमा रमाउने हेटौँडाका सङ्गीतकार सुदीप क्षेत्रीको तर्क छ । पौराणिककालमा भगवान कृष्णले बाँसुरी बजाउँदा गाई जम्मा भएर सुन्ने गरेको उहाँले उल्लेख गर्नुभयो । “सुन्न सक्ने क्षमता भएका सबैलाई सङ्गीतले मोहित पार्न सक्छ । सङ्गीतको धुनले गाईलाई आनन्दित तुल्याउँछ, यसो गर्दा गाईले दुध पनि धेरै दिन्छ,” उहाँ भन्नुहुन्छ । मकवानपुरको हाँडीखोलास्थित पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्य रेडियो बजेपछि कुखुराले नियमित दाना खाइरहने अर्को अनुभव सुनाउनुहुन्छ । पशु सेवा कार्यालय मकवानपुर हेटौँडाका वरिष्ठ पशु चिकित्सक वज्रकिशोर ठाकुर सङ्गीतले प्राकृतिक रूपमा मन मुटुमा छुने र मनोवैज्ञानिक रूपमा मानव र पशुलाई आनन्दित बनाउने तर्क गर्नुहुन्छ ।

“सङ्गीतले तनाव घटाउँछ, तनावको हर्मोन कम उत्पादन हुँदा मानसिक तनावमुक्त गाईले बढी दुध दिन्छन्,” वरिष्ठ पशु चिकित्सक ठाकुरले भन्नुभयो । गाउँघरमा गाईभैँसी दुहुने बेला रेडियो बजाउनुका साथै कुखुरापालकले रेडियो बजाउने उहाँले उल्लेख गर्नुभयो । जर्नल अफ इन्डोक्राइनोलोजीमा प्रकाशित शोध अनुसार गाईको दुधमा पाइने पौष्टिक तत्त्व गाईको खुसीमा निर्भर हुन्छ । 

अर्थात् गाई जति खुसी हुन्छ, उसको दुध उति नै धेरै पोसिलो हुन्छ । शोधले अधिक खुसी रहेको गाईको दुधमा क्याल्सियम बढी हुने देखाएको छ । दक्षिण अफ्रिकाको प्रिटोरिया विश्वविद्यालयले १५ मार्च २०२३ मा गरेको एक अध्ययनमा सङ्गीतले गाईलाई आराम दिने र दुध बढाउने उल्लेख छ । शास्त्रीय सङ्गीत बजाउँदा गाईको तनावको स्तर कम हुने हुँदा दुध उत्पादन बढ्ने यसमा उल्लेख छ । 

बाख्रा विकास फार्म चित्लाङमा गत वर्षको असार १५ गतेदेखि १० वटा जर्सी गाईपालन गरिएकोमा हाल बाच्छाबाच्छीसहित १७ वटा पुगेका छन् । १० मध्ये आठ वटा गाईले एक सय लिटरभन्दा बढी दुध दिइरहेको र दुई गाई ब्याउने अवस्थामा छन् । बाच्छाबाच्छीलाई यहाँ शारीरिक तौल अनुसार दुहेको दुध खुवाउने गरिएको गाई फार्मका लागि तीन कर्मचारी छन् । यसअघि स्थानीय बजारमा काठमाडौँबाट दुध आउने गरेकोमा फार्म उत्पादनसँगै काठमाडौँबाट आउन रोकिएको छ ।