• १६ चैत २०८०, शुक्रबार

राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस

विज्ञान प्रविधिमा सरकारले लगानी बढाउनुपर्छ : उपकुलपति श्रेष्ठ

blog

काठमाडौं, वैशाख १९ गते । सोमबार राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस मनाइएको छ । सूचना प्रविधिको विकाससँगै विश्व एउटा गाउँमा बदलिएको छ । प्रविधिको विकाससँगै सूचना सम्प्रेषणका माध्यम फेरिएका छन् । प्रविधिको विकाससँगै नागरिकले पाउनुपर्ने सूचना सस्तो र सरल तरिकाले पाउन थालेका छन् । विकास र प्रविधिमा नेपालले पनि फड्को मार्दै आएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ सरकारको लगानी पर्याप्त नभएको बताउनुहुन्छ । सरकारले प्रविधिको विकासमा अध्ययन तथा अनुसन्धानका लागि लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘‘सरकारले बजेट तर्जुमा गर्दा नै अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले विज्ञान तथा प्रविधिको क्षेत्रमा बजेटको विभाजन गर्नुपर्छ,’’ उहाँ भन्नुहुन्छ, ‘‘बजेट विनियोजन प्रक्रियालाई नै बदलेर अगाडि बढे मात्र विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान गर्ने बाटो खुल्छ ।’’

प्रविधिको विकासलाई समाजसँग जोड्नुपर्ने उहाँको भनाइ छ । नास्टले देशैभर जनताका आवश्यकता र उपलब्ध साधनस्रोतको पहिचान गर्दै अनुसन्धान गरिरहेको डा. श्रेष्ठको भनाइ छ । फरक प्रदेशमा फरक विषयमा अनुसन्धान अगाडि बढेको उहाँले बताउनुभयो । प्रदेश–१ मा खाद्य र कृषि, मधेसमा चुरे संरक्षण र विकास, बागमतीमा सहरी, वातावरण र विकास, गण्डकीमा पर्यटकीय विशेषता, लुम्बिनीमा रैथाने प्रविधि, कर्णालीका ग्रामीण क्षेत्रमा सूचनाको विकास र सुदूरपश्चिम प्रदेशमा जडिबुटीको प्रशोधनको विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

नेपालले अन्तरिक्षमा भू–उपग्रह प्रक्षेपणलाई विज्ञान र प्रविधिको विकासको ठूलो उपलब्धिको रुपमा लिएको छ । यसले विश्वमै नेपाललाई चिनाउने काम गरेको डा. श्रेष्ठको भनाइ छ ।

नेपालमा विज्ञान तथा प्रविधिको विकास र नेपालमा यसको आवश्यकता र महत्वको विषयमा गोरखापत्र अनलाइनका पत्रकार विष्णु पाण्डेय, फोटो पत्रकारद्वय मनोजरत्न शाही र केशब गुरुङले उपकुलपति श्रेष्ठसँग गरेको भिडियो कुराकानी :


Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।