• ३ साउन २०८१, बिहिबार

गत आर्थिक वर्षमा पाँच खर्ब ३१ अर्ब आन्तरिक राजस्व सङ्कलन

blog

आन्तरिक राजस्व विभागका सूचना अधिकारी आनन्दकुमार गुप्ता

काठमाडौँ, साउन ३ गते । सरकारले गत आर्थिक वर्ष २०८०/०८१मा ५ खर्ब ३१ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा ६ खर्ब ७७ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । गत वर्ष लक्ष्यभन्दा एक खर्ब ४६ अर्ब रुपियाँ कम राजस्व सङ्कलन भएको हो ।

आन्तरिक राजस्व विभागका सूचना अधिकारी आनन्दकुमार गुप्ताले ६७७ अर्ब आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य भए पनि आर्थिक वर्ष २०८०/०८१ मा ५३१ अर्ब मात्रै आन्तरिक राजश्व सङ्कलन भएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व विभागलाई ७०१ अर्बको राजस्व लक्ष्य तोकिएर आएको बताउनुभयो ।

उहाँले ७०१ अर्बको राजस्व लक्ष्य मुलुकभरका ८४ वटा आन्तरिक राजस्व कार्यालयहरुलाई क्षमताको आधारमा लक्ष्य निर्धारण गरेर अर्थ मन्त्रालयले पठाएको बताउनुभयो । उहाँले आन्तरिक राजस्व विभागले वार्षिक कार्ययोजना बनाएर अर्थ मन्त्रालयमा पठाएको बताउनुभयो ।

सूचना अधिकारी गुप्ताले करको दायरा बढाउने, कर परिपालना गराउने कार्ययोजनालाई कार्यान्वयन गरी अर्थ मन्त्रालयले तोकिएको राजस्व लक्ष्य पूरा गर्ने रणनीति विभागले लिएको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको सुरुवातसँगै सरकारले भ्याटमा दर्ता हुने कम्पनीको थ्रेसहोल्डमा परिमार्जन गरी २० लाखको सिमा बढेर अहिले ३० लाख पुगेको बताउनुभयो ।

उहाँले कारोबार २० लाख कटेका कम्पनीहरु भ्याटमा दर्ता गर्न आवश्यक भएको बताउनुभयो । उहाँले गत आर्थिक वर्ष मूल्य अभिवृद्धिकरमा भएको व्यवस्था अनुसार कर विजकको ढाँचा पनि यो वर्ष संशोधन भएको बताउनुभयो । उहाँले कर विजकको ढाँचामा कोलम राखेर परिमार्जन भएको भन्दै नयाँ ढाँचा अनुसार भ्याटमा दर्ता भएका करदाताहरुले एचएस कोर्ड राखेर बिल जारी गर्नुपर्ने व्यवस्था लागू भएको बताउनुभयो ।

‘‘गत वर्ष ६७७ अर्ब आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक राजस्व ५३१ अर्ब सङ्कलन भएको छ । चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयबाट आन्तरिक राजस्व विभागलाई ७०१ अर्बको राजस्व लक्ष्य तोकिएर आएको छ । ७०१ अर्बको राजस्व लक्ष्य ८४ वटा आन्तरिक राजस्व कार्यालयहरुलाई क्षमताको आधारमा लक्ष्य निर्धारण गरेर पठाएको अवस्था छ । विभागले वार्षिक कार्ययोजना समेत बनाएर मन्त्रालयमा पठाएका छौं । कार्ययोजनामा करको दायरा बढाउने, कर परिपालना गराउने काम गर्छौं । कार्ययोजनालाई कार्यान्वयन गरी अर्थ मन्त्रालयले तोकिएको राजस्व लक्ष्य पूरा गर्ने रणनीति छ ।,’’ सूचना अधिकारी गुप्ताले भन्नुभयो, ‘‘भ्याटमा दर्ता हुने थ्रेसहोल्डमा यो वर्ष परिमार्जन भएको छ । जसमा अघिल्लो आर्थिक वर्ष २० लाख थियो । २० लाखको सीमा बढेर अहिले ३० लाख पुगेको छ । उहाँहरुको कारोबार २० लाख कटेको छ भने कम्पनीलाई भ्याटमा दर्ता गर्नुपर्छ । गत आर्थिक वर्ष मूल्य अभिवृद्धि करमा भएको व्यवस्था अनुसार कर विजकको ढाँचा पनि संशोधन भएको छ । कर विजकको ढाँचामा कोलम समेत राखेर परिमार्जन भएको छ । त्यही ढाँचा अनुसार भ्याटमा दर्ता भएका करदाताहरुले बिल जारी गर्नुपर्छ ।’’

उहाँले करदाताहरुले आयातित वस्तुहरुको हकमासहितको बिलमा चार अङ्कको भए पनि एचएस कोर्ड उल्लेख गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशबाट आयात भएर आउने सामानको बिल जारी गर्दा कर बिजकले एचएस कोर्ड राख्नुपर्ने बताउनुभयो ।