• ३ साउन २०८१, बिहिबार

अस्ट्रेलियामा बेरोजगारी दर वृद्वि

blog

क्यानबेरा (अस्ट्रेलिया), साउन ३ गते । अस्ट्रेलियाको बेरोजगारी दर जुन महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार गत मे – जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो । सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारी दर वृद्वि भएको हो ।

सहभागिता दरले काम गर्ने उमेरका अस्ट्रेलियालीको अनुपात मापन गर्दछ, । जसको सङ्ख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जुनमा ६६.९ प्रतिशत पुगेको छ  ।

जुन महिनामा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७.० प्रतिशतको ऐतिहासिक उच्चभन्दा ०.१ प्रतिशत मात्र कम रहेको एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले विज्ञप्तिमार्फत उल्लेख गर्नुभयो ।

समग्रमा अस्ट्रेलियामा छ लाख आठ हजार २०० बेरोजगार व्यक्तिहरू जुन महिनामा सक्रिय रूपमा काम खोज्दै गरेको जार्विसले जनाउनुभयो । यसैगरी,  बेरोजगारहरु सन् २०२२ अक्टोबरमा चार लाख एक हजारले बढे तापनि कोभिड–१९ महामारीको तुलनामा एक लाख मानिस कम रहेको उहाँले उल्लेख गर्नुभयो । 

बेरोजगारी दर गत वर्ष जुन महिनाको तुलनामा ०.५ प्रतिशत बढी र सन् २०२० मार्च  को तुलनामा १.१ प्रतिशतले कम रहेको उहाँले जनाउनुभएको छ । 

एबीएसको तथ्याङ्क अनुसार अस्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या मे –जुन महिनाको बिचमा ०.८ प्रतिशतले बढेको छ ।

बिरामी भएकाले ४.५ प्रतिशत अस्ट्रेलियालीले जून महिनामा सामान्य समयको जस्तो काम गर्न नसकेको जार्विसले बताउनुभएको छ । रासस/सिन्ह्वा