• ३ साउन २०८१, बिहिबार

भत्किन लाग्यो ‘स्मार्ट रिफ्रेस सेन्टर’

blog

बुटवल समाचारदाता

बुटवल, साउन ३ गते । चार वर्षअघि २०७७ मङ्सिर १२ गते रुपन्देहीको सैनामैना नगरपालिका–९, पिपलडाँडामा शिलान्यास गरिएको आरामकक्ष ‘स्मार्ट रिफ्रेस सेन्टर’ भत्किने अवस्थामा पुगेको छ । लुम्बिनी प्रदेश सरकारको लगानीमा राजमार्गमा सवारीचालकका लागि बन्दै गरेको रिफ्रेस सेन्टर पछिल्लो समय बजेट अभावमा निर्माण सम्पन्न नहुँदै भत्किन थालेको हो । 

करिब एक बिघा क्षेत्रफलमा फैलिएको रिफ्रेस सेन्टर साढे तीन करोड रुपियाँको लगानीमा दुई वर्षभित्र २०७९ सालभित्र सम्पन्न गर्ने कार्यतालिका थियो । लामो दुरीका सवारीचालक र यात्रुलाई विश्राम र आरामका लागि प्रदेशका पाँच वटा जिल्लामा स्मार्ट रिफ्रेस सेन्टर बनाउने कार्यक्रम अन्तर्गत पहिलो चरणमा रुपन्देहीको सैनामैनामा रिफ्रेस सेन्टर बनाउन सुरु गरिएको हो ।  रिफ्रेस सेन्टर निर्माणका लागि पहिलो चरणको काम गर्न तीन करोड ५५ लाख ७१ हजारमा ठेक्का सम्झौता भएको थियो । वरिपरि लगाइएको पर्खाल ठाउँ ठाउँमा चिरा परेर भत्किन थालेको छ भने चौरभरि बिरुवा उम्रिएका छन् ।  

स्मार्ट रिफ्रेस सेन्टरमा स्मार्ट रेस्ट रुम, शौचालय, सावर रुम, पार्क, पार्किङ स्थल, सिटिङ एरिया, पाथवे, रोड एरिया, कार वासिङ, चार्जिङ स्टेसन र ड्राइभर रुमलगायतका संरचना बन्ने गरी यसको डिजाइन तयार गरिएको थियो । 

रिफ्रेस सेन्टरमा अहिले एकतले भवन निर्माणसहित बाउन्ड्रीलगायतका काम भएका छन् । रिफ्रेस सेन्टरभित्र पार्किङ स्थल, सिटिङ एरिया, पाथवे, रोड एरिया, कार वासिङ, चार्जिङ स्टेसनलगायतका काम गर्न बाँकी रहेको छ । 

स्मार्ट रिफ्रेस सेन्टरको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय योगीकुटी रुपन्देहीले निर्माण र रेखदेखको जिम्मा पाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देहीका वरिष्ठ इन्जिनियर तथा सूचना अधिकारी आदित्य धितालले रिफ्रेस सेन्टरको पहिलो चरणको काम सम्पन्न भएको र दोस्रो चरणको काम गर्नका लागि रकम अभावका कारण गर्न नसकिएको बताउनुभयो ।

सैनामैना नगरपालिकाका निवर्तमान नगरप्रमुख चित्रबहादुर कार्कीले सैनामैना नगरपालिकाले रिफ्रेस सेन्टरको दोस्रो चरणको निर्माणको काम सम्पन्न गर्न सङ्घ तथा प्रदेशमा पहल गर्न नसक्दा निर्माण कार्यमा ढिलाइ भएको गुनासो गर्नुभयो । 

सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले स्मार्ट रिफ्रेस सेन्टरको पहिलो चरणको निर्माणको काम करिब पूरा भएको तर दोस्रो चरणको कामका लागि प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा काम सम्पन्न हुन नसकेको बताउनुभयो ।