• ३ साउन २०८१, बिहिबार

श्रम बैङ्कमार्फत ९११ जनाले प्राप्त गरे रोजगारी

blog

काठमाडौँ, साउन ३ गते । काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमार्फत ९११ जनाले रोजगारी पाएका छन् । निजी क्षेत्रका कम्पनीमा ३२९ जना र महानगरका विभिन्न विभागमा ५८३ जनाले रोजगारी प्राप्त गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।  

महानगरका अनुसार श्रम बैङ्कमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन् । काठमाडौँ महानगरले रोजगारी प्रवर्धनका लागि तीन वर्षको कार्ययोजना बनाई कम्तीमा १५ हजारलाई तालिम तथा पाँच हजारलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैङ्क’  योजना अगाडि बढाएको थियो । 

यसअघि काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको सिप मेलामार्फत दुई हजार ५५५ जना, महानगरको तालिम केन्द्रमार्फत एक हजार ४६७ जना र अनलाइनमार्फत दुई हजार गरी जम्मा छ हजार २२ जनाले तालिम सम्पन्न गरेको जनाएको छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब आठ सय जना युवा रोजगार–स्वरोजगारमा आबद्ध भएको जनाइएको छ ।