• ३ साउन २०८१, बिहिबार

एक जर्किन पानी भर्न चार दिन

blog

चार दिनपछि पानी भर्ने पालो कुर्दै काँडा बजारका स्थानीय ।

गोकर्ण दयाल 

बैतडी, साउन ३ गते  । बर्खाको साउने झरीमा पनि मेलौली नगरपालिकाको काँडा बजारका स्थानीय बासिन्दालाई एक जर्किन पानी भर्न चार दिन पालो कुर्नुपर्ने बाध्यता रहेको छ । पालो कुरेर बसे पनि पानी भर्न पाउने/नपाउने टुङ्गो हुँदैन, पीडित स्थानीय भन्छन्, पालो आएन भने खोलातिर झर्नु पर्छ । खानेपानी नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र, आयुर्वेदिक औषधालय, मणिलेक नमुना मावि र मेलौली बहुमुखी क्याम्पसलगायत काकाकुल बनेका छन् ।  

एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको मणिलेक नमुना माविमा पानीको समस्याले शौचालय बन्द गर्नुपर्ने अवस्था आएकोे शिक्षक अर्जुन कुँवरले बताउनुभयो । बजारमा डेरा गरेर बस्ने क्याम्पसका विद्यार्थीलाई पढाइभन्दा खानेपानी भर्नकै चिन्ता हुने गरेको प्रधानाध्यापक भीमसिंह धामीले बताउनुभयो । 

पानी नहुँदा स्वास्थ्य संस्थामा प्रसूति सेवा दिन गाह्रो भइरहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सन्जिन केसीले बताउनुभयो । यस स्वास्थ्य केन्द्रले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकासम्मका बिरामीको उपचार सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य संस्थामा पानी नहुँदा उपचार सेवा पनि प्रभावित बनेको भनाइ केसीको छ । बर्खाको बेला झरी लागे पनि खानेपानीको हाहाकार नै मच्चिएको छ ।  

मुहान घट्यो, जनसङ्ख्या बढ्यो 

मेलौली नगरपालिकाको स्थापनासँगै काँडाबजार स्थानीय बजारका रूपमा विकास भएको छ । गाउँबाट बजारमा बसाइँ सर्नेको सङ्ख्या बढेको छ । पाटन–पञ्चेश्वर सडक कालोपत्रे भएसँगै बजार विस्तार हुँदा जनसङ्ख्या पनि बढेको छ । बजार क्षेत्रमा जनसङ्ख्या बढे पनि पानीको मुहान भने सुकेर घटेको बताइन्छ । १४ किलोमिटर टाढा रहेको ग्वाल्लेक वनको मुहानबाट मेलौलीको काँडा बजारमा पानी आउने गरेको छ । मुहानमाथि डोजर लगाएर सडक खन्दा मुहान सुकेको स्थानीय उपभोक्ता समितिका सचिव दशरथसिंह नायकले बताउनुभयो ।

डोजरलगायत जथाभाबी रूपमा सडक निर्माण गर्दा खानेपानीका पाइपसमेत टुटफुट भएको उपभोक्ताले गुनासो गरेका छन् । भएको मुहान संरक्षण गरेर अर्को मुहानको पानी थप्न सके पानी आपूर्ति सहज हुने नायकले बताउनुभयो ।

खानेपानी योजनाका लागि नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न निकायलाई हारगुहार गरिएको उहाँले बताउनुभयो । प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह मेलौली भ्रमणमा आएका बेला स्थानीयले खानेपानी योजनाको माग गरेका थिए ।

मुख्यमन्त्रीले खानेपानी योजना दिने आश्वासन दिए पनि प्रदेशबाट बजेट नआएको उपभोक्ता भोजराज भट्टले बताउनुभयो । खानेपानीको समस्या समाधान गर्न नगरपालिकासँग पर्याप्त बजेट नभएकाले सङ्घीय सरकारलाई आग्रह गरिएको हो । 

खानेपानीका लागि आव २०८१/८२ को बजेटमा दुई करोड रुपियाँ बजेट विनियोजित भएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकारले दुई करोड रुपियाँ विनियोजित गरेको छ । नगरपालिकाबाट मुहानको खोजी भइरहेको छ । बहुवर्षीय ठेक्कामार्फत काम हुने भएकाले पानी आपूर्ति हुन एक/दुई वर्ष लाग्न सक्छ ।” उहाँले तत्कालका लागि दवानी मुहानबाट पानी लिफ्ट गरेर बजारमा पानी आपूर्तिका लागि पहल भइरहेको बताउनुभयो ।