• २ साउन २०८१, बुधबार

सहकारीमार्फत अनुदानका यन्त्र उपकरण व्यवस्थापन

blog

गुणबहादुर रोका
सुलीकोट, साउन २ गते । 
गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिका भित्र रहेका ८ वटा वडामा सहकारीमार्फत अनुदानका यन्त्र उपकरण व्यवस्थापन गरिएको छ । बुधबार गाउँपालिकाले एक कार्यक्रमका बिच कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले सहकारीलाई यन्त्र उपकरण कृषि औजार वितरण गरिएको हो ।

गाउँपालिकाले प्रत्येक वडामा कष्टम हायरिङ सेन्टर निर्माण गरी अनुदानका यन्त्र उपकरण व्यवस्थापनका लागि नयाँ अवधारण ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कष्ठम हायरिङ सेन्टरले भाडामा उपकरण चलाउने काम गर्छ, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, “अनुदान यन्त्र उपकरण व्यक्तिलाई दिँदा निजी जस्तो बनाएर सामूहिकता काम नलाग्ने अवस्था आएकाले अनुदानका सामान प्रभावकारी बनाउन सहकारीमार्फत दिने निर्णय भएको हो ।”

गाउँपालिकाले सहकारी संस्थालाई जिम्मेवार बनाएर संस्थालाई दिने र त्यसको संरक्षण तथा परिचालन पनि संस्थाले गर्ने गरी गाउँपालिकाले कष्ठम हायरिङ सेन्टर सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० पहिले नै निर्माण गरेको छ । कुनै पनि सङ्घसंस्थाले दिएको अनुदान व्यक्तिले दुरुपयोग नहोस् भन्ने मुख्य उद्देश्यका साथ सहकारीमार्फत कार्यविधि बनाएर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

सोही अनुसार सहकारीले यन्त्र उपकरण सञ्चालन र संरक्षण गर्नुपर्ने प्रमुख दायित्व रहेको छ । कार्यविधि अनुसार सहकारी मातहतका समिति बनाएर गाउँपालिकासँग उहाँहरूले समन्वय गर्नुहुन्छ, प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, ‘‘गाउँपालिकाले तोकेको सस्तो दररेटमा कृषि औजारको भाडा तोकेर लिन पाउनु हुन्छ ।’’

आर्थिक वर्ष २०८१/०८१ को कार्यक्रमअन्तर्गत स्थानीयको माग र आवश्यकतालाई ध्यानमा राखी कष्टम हायरिङ सेन्टर शीर्षकमार्फत २७ लाख १५ हजार दुई सय ६ रुपियाँ बजेटमा थेसर, स्पेपम, पाउर टेलर ट्याक्टर, बुस कटर मेसिन, मकै छोडाउने मेसिन र धान कुट्ने मेसिन लगायत २४ वटा कृषि उपकरण गाउँपालिका भित्रका ८ वटा वडाका सहकारीलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।