• २ साउन २०८१, बुधबार

प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता बयसट्ठी अर्ब पुग्यो

blog

काठमाडौँ, साउन २ गते । एक आर्थिक वर्षमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) झन्डै दोब्बरले बढेको छ । आव २०८०-८१ मा झन्डै ६२ अर्ब रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता (एफडिआई) आएको थियो । 

उद्योग विभागका अनुसार गत आवमा ४०७ परियोजनामार्फत ६१ अर्ब ९० करोड ४५ लाख ४६ हजार रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको हो । आव २०८०-८१ मा ३८ अर्ब विदेशी लगानी प्रतिबद्धताको लक्ष्य रहेकामा ६१ अर्ब ९० करोड लगानी प्रतिबद्धता आएको हो । 

अघिल्लो आवमा ३८ अर्ब ४० करोड ७५ लाख रुपियाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो र सो अवधिमा पाँच अर्ब ९६ करोड १३ लाख खुद विदेशी लगानी भित्रिएको छ । 

गत आवमा आव २०७९-८० को तुलनामा २३ अर्ब ५० करोड रुपियाँभन्दा बढी वैदेशिक लगानी भित्रिएको हो । सरकारले गत वैशाख दोस्रो साता गरेको लगानी सम्मेलनसँगै बजेटमार्फत गरिएको नीतिगत सुधारले विदेशी लगानी प्रतिबद्धतामा वृद्धि भएको हो । 

विभाग अन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले नीतिगत सुधारले गर्दा मुलुकमा भित्रिने लगानी प्रतिबद्धता वृद्धि भएको जानकारी दिनुुभयो । गत वैशाख दोस्रो साता भएको लगानी सम्मेलनसँगै ऐन कानुन संशोधन गरेका कारण गर्दा विदेशी लगानी प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको उहाँको भनाइ छ । 

गत आवको असार महिनामा मात्र ४८ वटा परियोजना १७ अर्ब ४८ करोड ४७ लाख २० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । असारमा एउटा जलविद्युत् परियोजनामा १३ अर्ब लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।  

पर्यटन क्षेत्रमा लगानीकर्ता आकर्षित

एक आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यटन क्षेत्रमा १९७ परियोजनामार्फत विदेशी लगानी प्रतिबद्धता आएको छ । 

यस्तै सेवा क्षेत्रमा १३३ परियोजनामा लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक क्षेत्रमा ४६, सूचना प्रविधिमा ११, कृषिमा आठ, पूर्वाधारमा छ, ऊर्जा र खानीजन्य परियोजना तीन-तीन वटामा लगानी प्रतिबद्धता आएको छ । साना उद्योग ३८६, मझौला १५ र ठुुला छ वटा ठुुला उद्योगमा लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ । 

सुरुदेखि हालसम्म छ हजार २६७ वटा परियोजनामार्फत पाँच खर्ब ११ अर्ब ८९ करोड ३४ लाख ७७ हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । मुलुकमा लगानी गर्ने भनेर प्रतिबद्धता आए पनि सो अनुुपातमा विदेशी लगानी नआई न्यून मात्र आउने गरेको छ । प्रतिबद्धता गरे अनुसार ३० देखि ३५ प्रतिशत मात्र लगानी भित्रिने गरेको छ ।

स्वचालित मार्गबाट आठ अर्ब लगानी

स्वचालित मार्गबाट १३९ परियोजनामार्फत आठ अर्ब ११ करोड ६२ लाख वैदेशिक लगानी भित्रिएको छ । साढे दुुई महिनाको अवधिमा स्वचालित मार्गबाट सो रकम भित्रिएको विभागले जनाएको छ । गत वैशाखमा भएको लगानी सम्मेलनमार्फत स्वचालित मार्गबाट लगानी स्वीकृत हुुने प्रणालीको कार्यान्वयन आएको थियो । स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी गर्न पाउने व्यवस्था रहेको छ । 

स्वचालित मार्गबाट सबैभन्दा धेरै पर्यटनमूलक परियोजनामा ६९, कृषिमूलक परियोजनामा एक, सूचना प्रविधिमा २८, पूर्वाधारमा एक, उत्पादनमूलकमा पाँच र सेवामूलक ३५ परियोजनामा लगानी भित्रिएको छ । 

२०८० असोज १५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ५० करोड रुपियाँसम्म कुल पुँजी भएका विदेशी लगानीका परियोजना अनलाइनबाट स्वीकृत गर्ने निर्णय भएको थियो । सोही अनुसार स्वचालित मार्गबाट लगानी भिœयाउने कार्यव्रmम गत वैशाख दोस्रो सातादेखि कार्यान्वयनमा आएको थियो ।  

बढ्यो रोयल्टी र लाभांश

गत वर्ष प्रत्यक्ष वैदेशिक लगानीकर्ताले नेपालबाट लैजाने रोयल्टी रकम घटेको छ । विभागको तथ्याङ्क अनुसार यस वर्ष नेपालबाट दुई अर्ब ७९ करोड रुपियाँ रोयल्टी विदेश गएको छ । गत आवमा दुई अर्ब ३३ करोड रुपियाँ रोयल्टी बिदेसिएको थियो । नेपालबाट एक वर्षमा विदेशी लगानीकर्ताले १० अर्ब सात करोड रुपियाँ लाभांश लगेको देखिएको छ । 

गत आवको एक वर्ष अवधिमा १३ अर्ब ८४ करोड रुपियाँ लाभांश लगेको तथ्याङ्कमा देखिन्छ । अमेरिकी डलरमा एक वर्षमा एक करोड नौ लाख लाभांश लगेको देखिन्छ । अघिल्लो वर्ष दुई करोड १२ लाख डलर लाभांश लगेको देखिएको छ ।