• १ साउन २०८१, मङ्गलबार

रुकुम पश्चिम अपडेट: पुरिएका तीन बालिकाको शव निकालियो, बेपत्ताको खोजी हुँदै

blog

बाढीले घर क्षति गरेको आठविसकोट १२ को झिन्चौर क्षेत्र । तस्बिर: राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, साउन १ गते । रुकुम पश्चिममा गए राती आएको बाढीले घर बगाउँदा मृत्यु भएका तीन बालिकाको शव निकालिएको छ । 

आठविसकोट नगरपालिका वडा नम्बर १२ को झिन्चौर बगरमा तातोपानी र झिन्चौर खोलाको बाढीले घर बगाउँदा घरमै पुरिएर मृत्यु भएका तिन बालिकाको शव निकालिएको हो । नगर प्रमुख रबी केसीका अनुसार बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनीषा सार्कीको शव निकालिएको हो । 

बाढीले घर बगाउँदा बेपत्ता हुनुभएका स्थानीय ४० वर्षीया डिल्ली बहादुर बुढाथोकीको खोजी कार्य भइरहेको नगर प्रमुख केसीले जनाउनुभयो । उहाँ बसेको घरमै परिएको हुनसक्ने आशङ्का गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएको छ । डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको छ । 

घटनामा परेर घाइते भएका सात जनाको भने आठविसकोटस्थित नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीया विनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीया जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २८ वर्षीया  धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते हुनुभएको छ । 

आठबिसकोटको वडा नम्बर १०, ११ हुँदै आउने गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताइएको छ । बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ । घटनाको पूर्ण विवरण सङ्कलन हुँदै गरेको नगर प्रमुख केसीले बताउनुभयो ।