• १ साउन २०८१, मङ्गलबार

डेङ्गुविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

blog

दिपायल समाचारदाता

दिपायल, साउन १ गते । डोटीमा डेङ्गुका बिरामी बढ्दै गएपछि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखाले सो अभियान सञ्चालन गरेका हुन् । डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएका कारण त्यसको नियन्त्रणका लागि जोखिमयुुक्त ठाउँमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुुख रमेश मलासीले बताउनुुभयो । 

“लामखुुट्टेले पानी जमेको ठाउँमा लार्भा पार्ने गर्दछ, जसका कारण लामखुुट्टेको सङ्ख्यामा वृद्धि हुन्छ र जोखिम बढ्छ,” उहाँले भन्नुुभयो, “त्यस्ता ठाउँको पहिचान गरी सरसफाइ गर्दा रोगको जोखिम घट्छ ।” लामखुट्टेको वासस्थान रहन सक्ने गाडीका पुराना टायर, ड्रम, गमला, खाल्टाखुल्टी, नालीमा जमेको पानी सरसफाइ गर्नाले रोगको जोखिम न्यूनीकरण हुने मलासीले बताउनुुभयो । “असोज र कात्तिकमा लामखुट्टेले पानी जमेको ठाउँमा लार्भा छाड्ने गरेको बताइन्छ । 

पानी जम्न नदिने, जमेको पानी घोप्ट्याउने, निकासी गर्ने, लार्भा खोज्ने र नष्ट गर्न जिल्लाभर उक्त अभियान सञ्चालन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंहले घर, पसल, सार्वजनिक स्थान र छरछिमेकमा लामखुट्टेका लार्भा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न अनुुरोध गर्नुुभयो । “केही वर्षअघिसम्म तराईका जिल्लामा डेङ्गुका बिरामी देखा पर्थे तर पछिल्लो केही वर्ष पहाडमा पनि बिरामी बढ्दै गएका छन्,” उहाँले भन्नुुभयो, “रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनुु उपयुुक्त हुुन्छ ।” स्वास्थ्य कार्यालयको अगुवाइमा मुुख्य बजार दिपायलमा रहेका ग्यारेजबाट यो अभियानको थालनी गरिएको होे । अभियानमा स्थानीयवासीका साथै जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयवासीको सहभागिता रहेको थियो । जिल्लाका नौ वटै पालिका र त्यस अन्तर्गतका स्वास्थ्य संस्था तथा वडामा पनि यो अभियान सञ्चालन गर्न परिपत्र गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार यस वर्ष ८१ जना डेङ्गुका बिरामी फेला परेका छन् । गत वर्ष २२ जनामा देखिएको थियो ।