• १ साउन २०८१, मङ्गलबार

महिला स्वास्थ्यकर्मीले धानेका स्वास्थ्य चौकी

blog

ललित बसेल

सुर्खेत, साउन १ गते । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका–७ मा रहेको काप्रिचौर स्वास्थ्य चौकी महिला कर्मचारीले मात्र धानेका छन् । चौकीमा कार्यालय सहयोगीदेखि प्रमुखसम्म सबै महिला कर्मचारी कार्यरत छन् । 

पर्याप्त स्रोतसाधनको अभाव हुँदाहुँदै पनि महिला स्वास्थ्यकर्मीले आफ्नो ठाउँमा उत्कृष्ट सेवा प्रवाह गर्दै आएका छन् । सो स्वास्थ्य चौकीको भवन मापदण्ड अनुसारको छैन । एउटै कोठाबाट बिरामीलाई परामर्शदेखि जाँचसम्मका काम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । जटिल खालका बिरामीको उपचारका लागि प्रयोगशाला सेवा र भिडियो एक्सरे सेवा छैन । यस्तो अभावबिच पनि स्वास्थ्य चौकीले उत्कृष्ट सेवा प्रवाह गरेको सेवाग्राही बताउँछन् । 

चौकीमा सेवा लिन आउनुभएकी स्थानीय पातली ओलीले चौकीबाट प्राप्त हुने सबै सेवा पाइरहेको बताउनुभयो । उहाँले स्वास्थ्य चौकीमा सबै महिला स्वास्थ्यकर्मी भएको हुँदा महिला भएर आफ्नो समस्या भन्न पनि सजिलो भएको जनाउनुभयो तर सो ठाउँमा भिडियो एक्सरे र प्रयोगशालाका लागि भने बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो उहाँको छ । अर्का सेवाग्राही सन्तोष केसीले चौकीबाट सन्तोषजनक सेवा प्रवाह भएको बताउनुभयो । महिला स्वास्थ्यकर्मी नियमित चौकी आउने, आफ्नो काममा इमानदारिता प्रकट गर्नुहुने भएकाले सेवा सन्तोषजनक भएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “गाउँमा बस्ने भनेकै महिला बढी हो, यहाँका स्वास्थ्यकर्मी औषधी उपचार गर्न बिरामीले बोलाएकै बेला आइदिनुहुन्छ । महिला कर्मचारी भएको दिनदेखि सुत्केरीका लागि सबैभन्दा राम्रो भएको छ ।” महिला मात्रै स्वास्थ्यकर्मी भएका कारण गर्भवतीको नियमित जाँचमा बिनासङ्कोच आफ्ना समस्या भन्न बोल्न पाएको उहाँले अनुभव पोख्नुभयो । महिला मात्रै स्वास्थ्यकर्मी भएका कारण अचेल गाउँका गर्भवती महिला व्यथा लाग्नेबित्तिकै स्वास्थ्य चौकी आउने गरेको उहाँले बताउनुभयो । 

स्वास्थ्य चौकी प्रमुख सुनिताकुमारी खत्रीले स्वास्थ्य चौकीले सेवा प्रवाहमा आफूहरूले कुनै कमी र भेदभाव नगरेको बताउनुभयो । उहाँले स्वास्थ्य चौकीमा बस्ने आवास नभए पनि कोही बिरामी आएपछि रातिको समयमा पनि डेराबाट आएर सेवा दिने गरेको बताउनुभयो । रातिको समयमा कहिलेकाहीँ महिलालाई आकस्मिक सेवा दिन आउँदा त्रासको वातावरण भएको अनुभव पनि उहाँले सुनाउनुभयो । 

यसै गरी लेकबेँसी नगरपालिका–६ स्वास्थ्य चौकी कल्याणका पनि सबै स्वास्थ्यकर्मी महिला छन् । चौकीमा कार्यरत प्रमुख एचए भगवती श्रेष्ठ, सिअहेव यशोदा पुन, अनमी लीला पुरी, सिअहेव जमुना बुढा, ल्याब असिस्टेन्ट डिलमाया जिसी र अनमी खिमा रानाको मिलेको समूह छ । सबै महिला स्वास्थ्यकर्मी भएकाले महिला नै बढी उपचारमा आउने गरेको अनुभव स्वास्थ्यकर्मीको पनि छ । चौकीका प्रमुख भगवती श्रेष्ठले सबै कर्मचारी महिला भएको नाताले काम गर्न पनि सहज हुने गरेको अनुभव सुनाउनुभयो । धेरै जसो पुरुष काम गर्न बाहिरिएका कारण चौकीमा उपचार गर्न महिला नै बढी आउने गरेका छन् । प्रसूति सेवालगायत अन्य आकस्मिक सेवा पनि दिन रात गर्नु परेको भन्दै उहाँले सेवाग्राहीले पनि उपचारमा सहयोग गर्ने गरेको उहाँको भनाइ छ । 

यता जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले सबै महिला कर्मचारी भएको स्वास्थ्य चौकीबाट सेवा प्रवाहबारे कुनै गुनासो नआउने गरेको जनाएको छ । कार्यालयले वरिष्ठ निरीक्षक उदय बिसीले सबै स्वास्थयकर्मी महिला हुँदा काम गर्दा सहज भएको प्रतिक्रिया आएको हुँदा सेवा प्रवाह पनि राम्रोसँग भएको आफूहरूले पाएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा महिला स्वास्थ्यकर्मीले धानेका स्वास्थ्य चौकीको सङ्ख्या आधा दर्जनभन्दा बढी छन् ।