• १२ साउन २०८१, शनिबार

जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्छु : कानुनमन्त्री चौरसिया

blog

नवनियुक्पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया । तस्बिर : रासस

काठमाडौँ, असार ३१ गते । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गर्नुभएको छ । पद बहालीपश्चात् उहाँले जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्ने बताउनुभयो । 

“कानुन बनाउने मन्त्रालय भएकाले विधेयकहरू कति छन्, हामीले बनाउनुपर्ने कानुनहरू कति छन्, ती सबै कुराको ख्याल गरी जनतालाई न्याय मिल्ने गरी कानुन बनाउँछौँ”, मन्त्री चौरसियाले भन्नुभयो ।

आमा लक्ष्मीदेवी र बाबु हरिकिशोरको सन्तानका रूपमा उहाँको जन्म पर्सामा २०२१ माघ १५ गते भएको हो । मधेश प्रदेशको पर्सा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका चौरसियाले नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको हो । उहाँ २०५६ सालमा पनि पर्सा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

नेता चौरसिया संविधान सभाको पहिलो निर्वाचनमा पर्सा क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो । उहाँसँग सार्वजनिक लेखा समिति र राष्ट्रिय हित संरक्षण समितिमा काम गरेको अनुभव छ । उहाँ २०६२/६३ को जनआन्दोलनमा पटकपटक थुनामा पर्नुभएको थियो । सो क्रममा नेता चौरसिया करिब चार महिना वीरगन्ज कारागारमा बस्नुभएको थियो । उहाँ हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । रासस