सिराज खान
नेपालगन्ज, असार ३० गते । जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना प्रकाशित गरेर मुस्लिम समुदायको पर्व मोहर्रममा कुनैपनि प्रकारको उच्छृङ्खल व्यवहार नगर्न, घरेलु हतियार लिएर नहिँड्न तथा सदभाव बिथोल्ने कुनैपनि गतिविधि नगर्न आग्रह गरेको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीद्वारा हस्ताक्षर गरिएको सो सूचनामा मोहर्रम पर्वको बेला कसैले पनि उच्छृङ्खल व्यवहार गरेको, बिना काम राती हिँडेको, रड लगायतका घातक घरेलु हतियार लिएको र मोटरसाइकल तीव्र गतिमा चलाएको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।
प्रशासनद्वारा जारी गरिएको सूचनामा भनिएको छ, "मुस्लिम समुदायको महान् पर्व मोहर्रम सुरुवात भइसकेको सन्दर्भमा धार्मिक र्याली तथा कार्यक्रमहरू सञ्चालन भइरहेको र यसलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न जिल्लास्थित सुरक्षा संयन्त्र र सद्भाव समिति अहोरात्र खटिइरहेका छन् । पर्वको संवेदनशील क्षणमा राति अबेर बिना काम हिँड्ने मोटरसाइकल लगायतका सवारी साधन तीव्र गतिमा चलाउने, हातमा रड लगायतका घातक घरेलु हतियार प्रदर्शन गर्ने तथा बोकेर हिँड्ने कार्य नगर्न अनुरोध गर्दछौँ ।"
सामाजिक सञ्जालमा विद्वेष फैलाउने खालका सामग्रीहरू सम्प्रेषण गर्ने जस्ता उच्छृङ्खल व्यवहार नगर्न-नगराउन सोही सूचनामा आग्रह गर्दै कसैले गरेको देखेमा प्रहरीलाई जानकारी दिन समेत अनुरोध गरिएको छ ।
"सूचनाको बर्खिलाप कुनै किसिमका गतिविधि गरे÷गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारबाही भइजाने ब्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ," जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
दस दिनसम्म मनाइने मोहर्रम पर्व अहिले बाँकेमा धूमधामका साथ मनाइँदै छ । सो पर्वको अवसरमा हरेक दिन राती जुलुसहरू निस्कने गरेका छन् ।
बुधवार अपराह्न अन्तिम जुलुसका साथ समापन हुने सो पर्वलाई शान्तिपूर्वक सम्पन्न गराउनका लागि नेपालगन्जमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको र सदभाव समितिले पनि दिनरात काम गरिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताउनुभयो । उहाँले मोहर्रम शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।