• १२ साउन २०८१, शनिबार

काजुको व्यावसायिक खेतीतर्फ आकर्षित किसान

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार ३० गते । मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरूको सङ्ख्या बढ्दो छ । 

काजुदेखि ड्रागन, अङ्गुर काजु, एभोकाडो, किभीको खेती फस्टाइरहेको छ । खेतीका लागि कृषकको आकर्षण पनि बढ्दो र बजारको माग पनि उच्च छ । आजभोलि मोरङको पथरी शनिश्चरे –३ का भुवनेश्वर पोख्रेलको दिनचर्या फेरिएको छ । पूर्व शिक्षक पोख्रेल बिहान बेलुका आफ्नो बारीमा काजुको बिरुवा स्याहार गर्दै आउनुभएको छ । 

उमेरले ७५ वर्षे पुगे पनि उहाँको जोस भने युवाको छ । करिब ३ वर्षअघि तीर्थयात्राका लागि भारतको चारधाम जाँदा ऋषीकेशबाट ल्याएको काजुको बिरुवाले पोख्रेललाई व्यवसायी बनाएको छ । तीन वर्षपछि तिनै बिरुवाले उत्पादन दिन थालेको छ । अहिले करिब ३ कठ्ठा जग्गामा पोख्रेलले काजुका बिरुवा लगाउनुभएको छ । पोख्रेलको बारीमा अहिले काजुदेखि ड्रागन, अंगुरसम्मका बिरुवा छन् । पोख्रेलले रोपेको काजुले उत्पादन दिन थालिसकेको छ । काजु फल्न थालेपछि खुसी हुनुभएका पोख्रेलले काजुका बिरुवा समेत उत्पादन गर्न थाल्नुभएको छ । 

पहिलो वर्ष ५ केजी उत्पादन भएको काजुलाई पुनः रोपेर पोख्रेलले बिरुवा उत्पादन गर्नुभयो । तिनै बिरुवाबाट अहिले उत्पादन सुरु हुन थालेको छ । नेपालमा पनि काजुको व्यावसायिक खेती सम्भव हुन्छ भन्ने उदाहरण बन्नुभएको छ । छोटो समयमा राम्रो आम्दानी हुने भएकाले व्यावसायिक रूपमा काजु खेती गराउन बिरुवा उत्पादन गरी विक्री गर्न थालेको उहाँको भनाइ छ । 

सामुन्द्रिक सतहबाट १ हजार ६ सय मिटरसम्मको उचाइमा काजुको खेती गर्न सकिन्छ । काजुको बिरुवा १० फुट भन्दा अग्लो हुन्छ । हाल वार्षिक ५ सयभन्दा बढी बिरुवा उत्पादन गर्दै आउनुभएका पोख्रेलले स्थानीय क्षेत्रमा ७५ रुपियाँको दरले बिक्री वितरण गर्दै आउनुभएको छ । 

नर्सरीबाट झापा, मोरङ र सुनसरीसम्म बिरुवा बिक्री भएपछि पोख्रेलको मुहारमा खुसी छाएको छ । बिरुवाको माग पहाडी जिल्ला तेह्रथुमसम्म हुन थालेको छ । बिरुवा उत्पादन थालेको पहिलो वर्ष नै उर्लाबारी नगरपालिका कृषि शाखाले १ सय ५० जति बिरुवा किसानलाई बाँडेर फल उत्पादन हुन थालेको छ । उब्जनी नदिने रुक्खो जमिनमा अन्य काठका बिरुवाको स्थानमा काजुको बिरुवा लगाएमा मनग्य आम्दानी हुने देखिन्छ । वर–पीपलजस्तै ठुलो झाँगिने भएकाले ५० केजीसम्म फल्ने पोख्रेलले आशा लिनुभएको छ । पोख्रेलको नर्सरीमा एउटा बोटबाट वार्षिक १५ देखि २० केजीसम्म काजु फल्न थालेको छ । व्यावसायिक रूपमा काजुको खेती गर्ने हो भने जागिर खानु र विदेश जानु नपर्ने पोख्रेलको भनाइ छ । 

पथरी शनिश्चरे नगरमा नयाँ कृषिखेती सुरु भएको कृषि शाखा प्रमुख सविना राईले बताउनुभयो । नगरमा काजु, अङ्गुर र ड्रागन खेती सुरु भएको र यसबाट कृषकलाई राम्रो आम्दानी भएको राईको भनाइ छ । नगरले कृषकलाई प्रोत्साहन गर्न एक वडा एक उत्पादन कार्यक्रमसँगै कृषकको मागमा आधारित कार्यक्रम ल्याएको राईले बताउनुभयो ।

नेपालमा भारत र भियतनामबाट काजु आयात हुने गरेको छ । आर्थिक वर्ष २०८०–८१ को पहिलो महिना साउनमा पाँच करोड ८२ लाख ३२ हजार रुपियाँ बराबरको काजु नेपाल भित्रिएको थियो । बजारमा पाइने भारतीय काजुभन्दा नेपालमा आफैँले उत्पादन गरेको ठुलो रकम बाहिरीनबाट रोकिन्छ ।

भारतमा मात्र व्यावसायिक रूपमा उत्पादन हुँदैआएको काजुका बारेमा नेपालमा अध्ययन भएमा आम्दानी र रोजगारी बढ्ने देखिन्छ । काजु स्वास्थ्यवद्र्धक, पोसिलो र तागतिलो हुने भएकाले यसको बजारमा राम्रो माग रहेको छ । काजु प्रतिकेजी १ हजार ६ सयदेखि २ हजारसम्म बिक्री हुने गरेको छ । यसको बाहिरी फल पनि वाइन बनाउन केजीको ११ सयका दरले बिक्री हुनेगरेको छ ।