• १२ मंसिर २०८१, बुधबार

लेन अनुशासन पालना गराउन जनचेतनामूलक अभियान

blog

फाइल तस्बिर ।

लक्ष्मण पौडेल

भैरहवा, असार ३० गते । सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि रुपन्देहीमा लेन अनुशासन पालना गराउन जनचेतनामूलक अभियान थालिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइ र ट्राफिक प्रहरीको समन्वयमा ‘मेरो सवारी, मेरो लेन’ नारासहित साताव्यापी जनचेतना कार्यक्रम सुरु गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रशासन, जिल्ला प्रहरी र ट्राफिक प्रहरीबिच समन्वयमा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । जिल्लामा रहेका संघसंस्थासित समन्वय गरेर प्रत्येक दिन सडकमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लामा फराकिला सडक भएपनि चालकले लेन अनुशासन पालना नगर्दा दुर्घटना बढ्नुका साथै ट्राफिक अस्तव्यस्त हुने गरेको बताउनुभयो । त्यस्तो समस्या समाधान गर्न र नागरिकलाई लेनको महत्त्व बुझाउन कार्यक्रम गरिएको उहाँको भनाइ छ । कार्यक्रमका लागि जिल्ला प्रशासनले आर्थिक र प्राविधिक स्रोत जुटाएको उहाँले बताउनुभयो ।

लेन अनुशासन कार्यक्रमको संयोजन गर्नुभएका जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक बजिरसिंह विष्टले जिल्लाका मुख्य सडक र व्यस्त चौराहामा विद्यार्थी, नागरिक सङ्घसंस्था, सञ्चारकर्मी, आमा समूह, टोल समिति, उद्योगी, व्यवसायीको सहभागितामा प्रत्येक दिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । कुन दिन कस्ता कार्यक्रम सञ्चालन गर्ने भन्ने विषयको योजना बनाएर जिल्ला ट्राफिकले समन्वय गरिरहेको विष्टले जानकारी दिनुभयो ।

"कुन दिन कहाँ, कसरी र कस्तो कार्यक्रम सञ्चालन गर्ने भन्ने बारेमा योजना बनाइएको छ," उहाँले भन्नुभयो, "स्थानीयसँग समन्वयका लागि पत्राचार गरेका छौँ, कतिपय ठाउँमा आफै पुगेर समन्वय गरेको छु ।"