• ३ माघ २०८१, बिहिबार

लगातारको वर्षाले जनजीवन प्रभावित

blog

सर्लाही समाचारदाता

सर्लाही, असार ३० गते । सर्लाहीमा लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ । यहाँ केही दिनदेखि निरन्तर परिरहेको झरीका कारण बाहिर निस्किएर काम गर्नुपर्ने र यात्रा गर्नुपर्नेले असाध्यै सास्ती खेपिरहेका छन् । लगातार ठुलो पानी परिरहँदा सर्लाहीमा ठाउँ ठाउँमै सडक, नाला, तटबन्ध भत्किरहेका छन् । भित्री कच्ची सडक असाध्यै खराब हुँदा आउजाउमा समस्या भइरहेको छ । चन्द्रनगरबाट भेल्ही हुँदै सदरमुकाम मलङ्गवा पुग्ने सडक ठाउँ ठाउँमा कटान भएको ब्रह्मपुरी गाउँपालिका–३, का युवा दिलीप यादवले बताउनुभयो । 

सडक खराब हुँदा दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । पूर्वपश्चिम राजमार्गको बाँके पुलसहित विभिन्न पुल र लच्कामा कालोपत्रे उक्किएर खाल्डाखुल्डी बढेका छन् । पर्याप्त वर्षा हुँदा धान रोपाइँमा उल्लेख्य प्रगति भए पनि कतिपय ठाउँमा धेरै पानी जमेर रोपाइँ नै प्रभावित बनेको किसानले बताएका छन् । लालबन्दी नगरपालिका–१२, जियाजोरका तेजप्रसाद बरालले पानी नरोकिँदा खेतमा पानी टनाटन भएर रोपाइँ गर्न नपाएको गुनासो गर्नुभयो । 

केही ठाउँमा रोपेको रोपो पनि डुबानमा परेको छ । पूरै आकासे वर्षाको भर रहेको क्षेत्रमा भने जम्ने गरी पानी परिदिँदा ठुलो राहत मिलिरहेको किसानले बताएका छन् । लगातारको वर्षाले खोलाबाट समेत हिँड्न नपाउँदा चुरे भेगका स्थानीयको दैनिकी असाध्यै कष्टकर बनेको छ । ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानका वडाध्यक्ष देवीबहादुर खत्रीले चुरेभेगमा बाढी आउँदा स्थानीय एक गाउँबाट अर्को गाउँसम्म पुग्नसमेत मुस्किल परेको जानकारी दिनुभयो । 

लखन्देही, बाँके, कालिन्जोर, फूलजोरलगायत खोलाले केही ठाउँमा खेतीयोग्य जमिन कटान गर्ने, बालुवा भर्ने र तटबन्ध बगाउने गरिरहेको छ । कौडेना गाउँपालिकाको शिवनगरमा बस्ती जोगाउन लखन्देही खोलामा बारम्बार तटबन्ध कस्ने र बाढी आएर बगाउने क्रम रोकिएको छैन । 

सर्लाही प्रहरीका प्रमुख एवं प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले शिवनगरमा तटबन्ध बगाइरहनेबाहेक अन्यत्र ठुलो समस्या नदेखिएको बताउनुभयो । पूर्व–पश्चिम राजमार्गको बाँके, नवलपुर, सासापुर, हरिवन, नयाँरोडलगायत ठाउँका लच्कामा बाढी आउँदा आउजाउमा समस्या परिरहेको छ । पानी नरोकिँदा जिल्लाका कतिपय गाउँमा पानीको निकास नपाएर घरमा पानी पसेको छ । पछिल्लो समय पानीको निकास नहुने गरी हचुवाको भरमा जथाभाबी सडक, नाला, पुलपुलेसा बनाउँदा जताततै डुबानको समस्या बढेको गुनासो स्थानीयले गरेका छन् । निर्माणाधीन रेलवे ट्र्याकले बागमती, लालबन्दीलगायतका स्थानमा पानी थुनिँदा डुबानको समस्या देखिएको छ ।