• १२ मंसिर २०८१, बुधबार

एक सय ८० घरधुरीमा खानेपानीको धारा

blog

खानेपानी योजना निर्माण गरिएको ट्याङ्की । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, असार ३० गते । 
म्याग्दीको बेनी नगरपालिका–२ खबरामा खानेपानीको पहुँच विस्तार भएको छ । वर्षौँदेखि खानेपानीको समस्या भोग्दै आएका खबरावासीहरुलाई लक्षित गरेर चार वर्ष वर्ष अघिदेखि सञ्चालन गरिएको खबरा खानेपानी योजनामार्फत एक सय ८० घरधुरीमा खानेपानीका धारा जडान गरिएको हो ।

योजना पूर्णरुपमा सम्पन्न नभए पनि अहिलेसम्म एक सय ८० घरधुरीमा पानी चलेको छ खबरा खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रेम कुँवरले भन्नुभयो, ‘‘वर्षौँदेखि खबराको बस्तीमा खानोपनीको चरम समस्या थियो । चार वर्ष अघिदेखि सञ्चालन गरिएको योजनामार्फत अहिले घरघरमा जडान गरिएका धारामार्फत पानी खसेपछि समस्याबाट मुक्ति पाएका छौँ ।’’

खबरामा खानेपानी सुविधा विस्तारका लागि सङ्घीय सरकारको बजेटलाई बेनी नगरपालिकाले ठेक्कामार्फत कार्यान्वयन गरेको हो । चालु आर्थिक वर्षसम्म आइपुग्दा तीनवटा ठेक्कामार्फत योजना निर्माण भएको छ । अहिलेसम्म एक करोड ३१ लाख ७२ हजार चार सय ४३ रुपियाँ खर्च भइसकेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

खबरा गाउँदेखि माथि मुलछरीको पानीको मुहानबाट पानी ल्याएर खबराका करिब दुई सय पचास घरधुरीमा निजी धारामार्फत पानी वितरण गर्ने योजना अनुसार अहिलेसम्म ५० हजार क्षमताका दुई वटा रिजर्भ ट्याङ्की, ३५ वटा वितरण च्याम्बर र ५ वटा डिसीलाइन निर्माण गरिएको बेनी नगरपालिकाका सब इन्जिनियर कमल थापामगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार योजना सम्पन्न गर्न तीन आर्थिक वर्षमा फरक फरक ठेक्का सम्झौता गरिएको थियो । आर्थिक वर्ष २०७८/०७९ का लागि भ्याटसहित ८७ लाख ९९ हजार दुई सय ७७ रुपियाँ लागत अनुमान गरिएकोमा ६२ लाख ११ हजार एकसय ६५ रुपियाँमा खुसीहोम विल्डर्ससँग  ठेक्का सम्झौता भएको थियो ।

पहिलो वर्ष इन्टेक निर्माण, पचास घन मिटरको आरसीसी ट्याङ्की, घेराबार फिटिङ, वितरण च्याम्बर ३० वटा, तीन वटा ब्रेक प्रेसर च्याम्बर, मुख्य पाइपलाइन र वितरण लाइन निर्माण गरिएको सब इन्जिनियर थापामगरले बताउनुभयो । दोस्रो वर्ष २०७९/०८० मा भ्याटसहित ५४ लाख ३७ हजार ६ सय २२ रुपियाँ बराबरको लागत अनुमान गरिएकोमा श्रमजीवी निर्माण सेवा सँग ४२ लाख २७ हजार सातसय २९ रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । योजना मार्फत पचास घनमिटरको आरसीसी ट्याङकी, ६० वटा निजी धारा र घरघरमा जाने पाइपलाइन निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, चालु आर्थिक वर्षमा ३८ लाख ८८ हजार नौ सय ६३ रुपियाँ लागत अनुमान गरिएकोमा २७ लाख ३३ हजार पाँससय ४९ रुपियाँमा बानियाँ निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो । योजनामा एक सय २० वटा धारा निर्माण र  फिटिङ सहित पाँचसय मिटर पाइपलाइन निर्माण भएको सब इन्जिनियर थापामगरले जानकारी दिनुभयो ।

पाइपलाइन, डिसी लाइन र वितरण च्याम्बर निर्माणमा ठेकेदारले लापरबाही गरेकाले योजना गुणस्तरीय नभएको उपभोक्ता समितिका अध्यक्ष कुँवरले गुनासो व्यक्त गर्नुभएको छ । ठेकेदारको लापरबाही, प्राविधिकबाट नियमित अनुगमन नहुनु र कमसल सामग्रीको प्रयोगका कारण योजना निर्माण कमजोर भएको उपभोक्ता समितिका अध्यक्ष कुँवरले बताउनुभयो ।

योजना सम्पन्न भयो भनेर भनिएको छ तर राम्रो बनेन् उहाँले भन्नुभयो, ‘‘योजना निर्माणमा ठेकेदारको चरम लापरबाही देखियो । मुख्याइपलाइन राम्रोसँग गाडिएको छैन । कमसल सामाग्रीको प्रयोग गरेर संरचनाहरू निर्माण गरेकाले पानी सञ्चालन नहुँदै संरचनाहरू जीर्ण भइसकेका छन् । पाइपहरूको फिटिङ राम्रोसँग नहुँदा धेरै ठाउँबाट पानी चुहावट भएको छ ।’’

खबरा खानेपानी योजनामा ठेकेदार पक्षबाट भएको लापरबाही र कमसल सामग्रीको प्रयोगलाई लिएर नगरपालिकाले ठेकेदार पक्षलाई सचेत बनाएको नगर प्रमुख केसीले बताउनुभयो ।

‘‘ठेकेदारबाट लापरबाही भएको भन्ने उपभोक्ताको कुरा सत्य हो । कमसल पाइप प्रयोग गरेको भन्ने उपभोक्ताको गुनासो आएपछि गाडिएको पाइप समेत निकालेर अर्को पाइप राख्न लगाएका  हौँ,’’ नगरप्रमुख केसीले भन्नुभयो ।

खबराको सबै घरधुरीमा खानेपानीको विस्तारका लागि अझै ५० वटा धारा निर्माण गर्नुपर्ने र सङ्घीय सरकारबाट आगामी आर्थिक वर्षका लागि बजेट कटौती गरेकाले योजना अधुरो हुने  अवस्था सिर्जना भएको नगरप्रमुख केसीले बताउनुभयो ।