• २ साउन २०८१, बुधबार

कांग्रेस–एमाले सहकार्यको नयाँ यात्रा

प्रधानमन्त्री नियुक्ति आज : साना दलको पनि समर्थन

blog

काठमाडौँ, असार ३०  गते । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच असार १७ गते भएको सहमति अनुसार आइतबारदेखि नयाँ सत्ता सहकार्य आरम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार नयाँ सरकार गठनका लागि दाबी पेस गरेका दुई दलको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि नयाँ चरणको सत्ता यात्रा प्रारम्भ हुने छ । 

राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नका लागि दाबी प्रस्ट गर्न दुई वा दुईभन्दा बढी दललाई आह्वान गर्नुभएको छ । उक्त अवधि आइतबार साँझ ५ बजे सकिँदै छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले सम्भवतः आइतबार साँझ ५ बजेपछि राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुहुने छ । प्रवक्ता रेग्मीले भन्नुभयो, “राष्ट्रपतिले प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिनुभएको छ । दाबी पेस गर्ने समय सकिएपछि प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढाउनुहुने छ र सम्भवतः सोमबार शपथग्रहण हुने छ ।” 

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका १६६ सदस्यको समर्थन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलसमक्ष प्रधानमन्त्री पदमा दाबी पेस गर्नुभएको छ । यसअघि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । उक्त जानकारी सङ्घीय संसद् सचिवालयले शुक्रबारै राष्ट्रपति कार्यालयमा पठाएको थियो । 

साना दलको पनि समर्थन

सत्ता सहकार्यको तयारीमा रहेका कांग्रेस र एमालेलाई संसद्का साना दलले पनि समर्थन गर्ने भएका छन् । यससँगै नयाँ सरकारलाई दुई तिहाइ मत प्राप्त हुने छ । 

पाँच सांसद रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, चार सांसद रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, सात सांसद रहेको अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी र छ सांसद रहेको डा. चन्द्रकान्त (सिके राउत) नेतृत्वको जनमत पार्टीले औपचारिक रूपमै एमाले अध्यक्ष ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेका छन् । 

चार सांसद रहेको रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र १४ सांसद रहेको राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको प्रस्तावमा सहमति जनाउँदै ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएको छ । अन्य दलले निर्णय गरेका छैनन् । 

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिपक्षमा बस्ने निर्णय गरिसकेका छन् । 

कांग्रेस–एमाले सहकार्यको नयाँ यात्रा 

कांगे्रस र एमालेबिच असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको हो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको प्रमुख साझेदार एमालेले कांग्रेससँग सहमति गरेपछि बलियो सरकार निर्माण गर्ने गरी एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको हो । 

सहमतिमा संविधान संशोधन, राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिने, राजनीतिक स्थिरता कायम गर्ने भनिएको छ । एमाले अध्यक्ष ओली आइतबार प्रधानमन्त्री नियुक्त भएपछि सोमबार शपथग्रहण गरी कांग्रेस, एमालेका केही नेतालाई मन्त्री नियुक्त गर्नुहुने छ । एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार सुरुमा सानो आकारको मन्त्रीपरिषद् गठन गर्ने गृहकार्य भइरहेको छ । एमाले अध्यक्ष ओली २०७२ असोज २४ गते पहिलो पटक र २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री भइसक्नुभएको छ । 

कांग्रेस–एमाले सहकार्यको शृङ्खला

दुई प्रतिस्पर्धी दल कांग्रेस–एमालेबिच प्रतिस्पर्धाको दौड मात्रै छैन, सहकार्यको शृङ्खला पनि लामै छ । कहिलेकाहीँ तिक्ततापूर्ण प्रतिस्पर्धा गर्ने राष्ट्रिय राजनीतिका प्रमुख दुई दल सङ्कटका बेला एक ठाउँमा जुट्ने गरेका छन् । अढाई दशकयता कांग्रेस–एमालेबिच छ पटक सरकार सञ्चालनमा सहकार्य भएको छ । 

कांग्रेसका पूर्वसभापति शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०५५ मा सरकार गठन भयो । २०५६ को निर्वाचन प्रयोजनका लागि गठित सरकारमा नेता भरतमोहन अधिकारीको नेतृत्वमा एमाले सरकारमा सहभागी भएको थियो । कांग्रेस र एमालेबिच २०६१ मा पनि सत्ता सहकार्य भएको थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ चैत २१ गते वर्तमान कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो । तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले ‘प्रतिगमन आधा सच्चिएको’ निष्कर्षसहित पार्टी सरकारमा सामेल हुने निर्णय गर्नुभएको थियो । 

२०६३ वैशाख १२ गते गठन भएको कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पनि एमालेले सत्ता सहकार्य गरेको थियो । अन्तरिम संविधान अनुसार गठित सरकारमा एमाले नेतृ सहाना प्रधानले पार्टीका तर्फबाट नेतृत्व गर्नुभएको थियो । एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल २०६६ जेठ ११ गते कांग्रेसकै समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभयो । कांग्रेसका तर्फबाट नेतृ सुजाता कोइरालाले पार्टीका तर्फबाट नेतृत्व गर्नुभएको थियो । 

संविधान सभा – २०६४ बाट संविधान जारी नभएपछि संविधान सभा २०७० को निर्वाचनपछि पहिलो दल कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला २०७० माघ २७ गते प्रधानमन्त्री नियुक्त हुनुभयो । उहाँको सरकारमा २०७० फागुन १३ गते एमाले सहभागी भयो । झन्डै दुई वर्षपछि २०७२ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो ।