• १५ मंसिर २०८१, शनिबार

सुरक्षित भनिएको ठाउँमा ठुलो पहिरो

blog

शालिग्राम नेपाल

चितवन, असार ३० गते । मुग्लिङ–नारायणगढ सडकखण्डमा विज्ञको टोलीले उच्च जोखिम देखाएको ठाउँ सुरक्षित रहेको र नयाँ स्थानमा पहिरो खसेपछि अनुसन्धान थालिएको छ । यस सडकखण्डको चार ठाउँलाई विज्ञको टोलीले पहिरो जाने उच्च जोखिममा राखेको थियो । अहिले गएको सिमलतालको पहिरो अनुमान गरेकोभन्दा फरक र जोखिम नभएको स्थानमा ठुलो पहिरो गएपछि थप अनुसन्धान अगाडि बढाइएको छ ।

डिभिजन सडक कार्यालय भरतपुर र विश्व बैङ्कले गरेको अनुसन्धानमा मुग्लिङ–नारायणगढ सडकको तुइनखोला, कालीखोला, मौरी पुल र नाम्सी पुल पहिरो जाने उच्च जोखिमका ठाउँ हुन् । विश्व बैङ्कले केराबारीको मौरीखोलाको पुल र डिभिजन सडक कार्यालयले तुइन, कालीखोला र नाम्सी खोलाको भिरको अध्ययन गरेको थियो ।

अध्ययनपछि उच्च जोखिम रहेको र यहाँ सतर्कता अपनाउँदै काम सुरु भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । “हामीले अध्ययन गरेभन्दा फरक ठाउँमा पहिरो गएपछि अध्ययनका लागि इन्जिनियर सागर कार्की नेतृत्वको टोलीलाई पठाएका छाँै,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार यो सडकखण्डको २५ ठाउँमा पहिरो रोकथामका लागि काम भएको छ । साना ठुला गरी विभिन्न स्थानमा पहिरो रोक्ने कामका लागि १५ करोड रुपियाँ खर्च भएको थियो । ती स्थानमा अहिले ठुलो पहिरो खसेको छैन । नयाँ ठाउँमा पहिरो जाने जोखिम बढेको देखिन्छ ।

“सिमलतालको पहाड ठुलो पहिरो जाने स्थान होइन,” डिभिजन सडक कार्यालयका सूचना अधिकारी चन्देश्वर साहले भन्नुभयो, “वडाले ग्रामीण क्षेत्रमा अध्ययन नगरी सडक निर्माण गरेकाले त्यहाँबाट तल पहिरो खसेको हुन सक्छ ।” पहाड भत्केको छैन, माथिबाट पहिरो आएको छ । तलको मुख्य राजमार्गभन्दा माथि ग्रामीण क्षेत्रमा सडक निर्माण गर्दा मापदण्ड अपनाएर तल असर नपर्ने गरी निर्माण गरिनुपर्ने उहाँले सुझाउनुभयो ।

कार्यालयका अनुसार दुई वर्षअघि पनि मुग्लिङ–मलेखु सडकको घोप्टेभिरस्थित ग्रामीण बस्तीमा सडक निर्माण गरेका कारण तल पहिरो झरेको थियो । गाउँमा जाने भन्दै बिनाअध्ययन पहाडको टापुमा सडक निर्माण गर्दा त्यहाँबाट वर्षामा पहिरो झरी समस्या आउने गरेको कार्यालयले जनाएको छ । चितवनको नारायणगढ–मुग्लिङ र मुग्लिङ–मलेखु सडकखण्डको माथिल्लो क्षेत्रमा ग्रामीण सडक निर्माण तीव्र रूपमा भइरहेको छ ।

सामान्य जोखिमको हिसाबले मुग्लिङ–नारायणगढ सडकखण्डको ३६ किलोमिटरको क्षेत्रमा हरेक पाँच सय मिटरमा पहिरो जाने ठाउँ छ । साना पहिरोका जोखिम धेरै स्थानमा र ठुला पहिरो थोरै ठाउँमा छन् । धेरै पानी पर्दा जोखिम वृद्धि हुन्छ भने पानी नपरेको समयमा पनि यस क्षेत्रमा पहिरो जाने गरेको सूचना अधिकारी साहले जानकारी दिनुभयो । सडक विभागबाट पहिरोको उच्च जोखिम र त्यसको रोकथामका लागि विज्ञको टोलीले अध्ययन गरेर प्रतिवेदनसमेत बुझाइसकेको साहले जानकारी दिनुभयो ।

टोलीले गरेको प्रतिवेदनमा सबै स्थानको पहिरो रोकथाम गर्न ५३ करोड रुपियाँ बजेट आवश्यक पर्ने उल्लेख गरेको उहाँले बताउनुभयो । आगामी दिनमा पहिरो रोकथामका लागि बजेट विनियोजन भए काम हुने साहले जानकारी दिनुभयो । यसअघि पहिरो रोकथामको काम जापानको टोलीले गरेको थियो । ती स्थानमा जाली बन्नुका साथै किला ठोकेर निर्माणपछि रुखका बिरुवा रोपिएका थिए । रोकथाम गरेको स्थानमा अहिले पहिरो खसेको छैन ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले कुन स्थान पहिरोका लागि उच्च जोखिमयुक्त भन्ने जान्न विस्तृत अध्ययन भइरहेको जानकारी दिनुभयो । उहाँले सडक विस्तारको काम प्राथमिकतासाथ गरिराखेको र पहिरो जोखिमको पनि अध्ययन भइरहेको बताउनुभयो । मुग्लिङ–नारायणगढको सडक विस्तारको काम सकिएर सडक डिभिजन कार्यालय भरतपुरलाई आयोजनाले हस्तान्तरण गरिसकेको छ ।