• १२ साउन २०८१, शनिबार

भानु जयन्तीको विशेष कार्यक्रम सम्पन्न : नोवलकिशोर राई र माया ठकुरीको रथारोहण

blog

भानु जयन्तीको विशेष कार्यक्रमको रथारोहणमा सहभागी साहित्यकार नोवलकिशोर राई र माया ठकुरी ।

काठमाडौँ, असार २९ गते। शनिबार देश विदेशका विभिन्न ठाउँमा २११ औँ भानुजयन्ती भव्यताका साथ मनाइएको छ। 

भानुभक्त आचार्य सम्बन्धी आधिकारिक संस्था भानु प्रतिष्ठानले २०११ सालदेखि भानुसम्बन्धी विविध गतिविधि र २०३३ सालदेखि राजधानीमा प्रभातफेरिसहित भानुजयन्ती मनाउँदै आएको छ। यस प्रतिष्ठानले शनिबार काठमाडौँमा दुई स्रष्टा नोवलकिशोर राई र माया ठकुरीलाई रथारोहण सहित अभिनन्दन गर्नका साथै नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा प्रभातफेरि र श्रद्धाञ्जली सभाको आयोजना गरेको हो।

समारोहका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्त्वलाई दर्शाउँदै साहित्यलाई अगाडि बढाउँदै गर्दा त्यसले राष्ट्रलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल जस्तो विभिन्न जातजातिको बसोबास भएको तथा बहुल संस्कार संस्कृति रहेको मुलुकमा भाषाले अझ बढी महत्त्व राख्ने बताउनुभयो। 


सभामुख घिमिरेले भानुभक्तले गरेका योगदानलाई समाजमा ल्याउनुका साथै समाजको विकासलाई साहित्यको क्षेत्रबाट अगाडि लैजाने, भाषालाई विकास गर्ने र भाषाको माध्यमबाट विश्वव्यापी रूपबाट राष्ट्रलाई चिनाउनुपर्ने बताउनुभयो। ‘‘नेपाल एकीकरण गर्ने सन्दर्भमा तत्कालीन राजा पृथ्वीनारायण शाहले जसरी राष्ट्रलाई भौगोलिक रूपबाट एक ठाउँमा ल्याएर विशाल राष्ट्र बनाउने र नेपालीलाई अगाडि बढाउने कुरा एउटा ऐतिहासिक महत्त्व कायम गर्नुभयो, त्यो आन्दोलनलाई अगाडि बढाउँदै गर्दा वीर रसका धेरै कविता लेखिने गरेको इतिहास छ’, घिमिरेले भन्नुभयो। 

सोही अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा–प्रतिष्ठानले सबै भाषा सबै ज्ञान: सबैको प्रज्ञा प्रतिष्ठान भन्ने मूल मन्त्रअनुसार प्रतिष्ठानलाई साझा थलो बनाउने जमर्को गरिरहेको बताउनुभयो। प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाल प्रज्ञा प्रतिष्ठानले दशकौँदेखि भानु प्रतिष्ठानसँग सहकार्य गर्दै आएको र सोहीको निरन्तरताका रूपमा २११ औँ भानु जयन्ती समारोह मनाइएको बताउनुभयो। 


भानु प्रतिष्ठानका तर्फबाट डा. रमेश शुभेच्छुकले भानु प्रतिष्ठानको इतिहास र गरेका कामको जानकारी दिनुभयो। शुभेच्छुले नेपालका सातै प्रदेशका राजधानीमा प्रतिष्ठानका प्रदेश समन्वय समितिले पनि यस्ता कार्यक्रम गरिरहेको जानकारी दिनुभयो। उहाँले भानुभक्तका नाममा राजधानीमा संग्रहालय हुनु आवश्यक रहेको जिकिर गर्नुभयो। शुभेच्छुले अगाडि सारेको कार्य योजनामा एक लाख एक रुपियाँ सहयोग  गर्ने साहित्यकार प्रा.डा. नोवलकिशोर राईले बताउनुभयो। राईले भानु प्रतिष्ठानले आफूलाई सम्मान गरेर भानुभक्तप्रतिको श्रद्धाका साथै नेपाली भाषाका लागि थप काम गर्ने अभिप्रेरणा जागृत भएको बताउनुभयो। 


त्यस्तै सम्मानित प्रतिभा साहित्यकार माया ठकुरीले सम्मानित भएकामा खुसी व्यक्त गर्दै यो नेपाली नारीहरूको पनि सम्मान भएको बताउनुभयो। सो समारोहमा डा. राई र ठकुरीलाई रथारोहण गराई नगर परिक्रमा गराउनका साथै अभिनन्दन पत्र प्रदान गरिएको थियो। 

समारोहमा भानु प्रतिष्ठानका तर्फबाट २१० औँ भानुजयन्तीका सन्दर्भमा गतवर्ष उत्कृष्ट झाँकीसहित सहभागी विद्यालयमध्ये प्रथम हुने सूर्योदय सेकेन्डरी स्कुल, द्वितीय क्याम्ब्रिज पब्लिक स्कुल, तृतीय हुने ग्लोबल स्कुल एन्ड कलेजका साथै प्रोत्साहन स्थानमा अन्नपूर्ण मा.वि र कान्तिभैरव गुरुकुललाई पुरस्कृत गरियो। प्रमुख अतिथिले विद्यालयका प्रतिनिधिलाई पुरस्कारको प्रमाणपत्र प्रदान गर्नुभयो। 


यस वर्ष विभिन्न २० विद्यालय र्‍यालीमा सहभागी थिए। र्‍यालीमा सहभागीमध्ये प्रथम स्थानमा अन्नपूर्ण मा.वि, द्वितीय हुने सूर्योदय मा.वि, तृतीय कान्ती भैरव गुरुकुल, चतुर्थ ग्लोबल पब्लिक स्कुल र ज्ञानदीप शिक्षा सदन भएको जानकारी प्रतिष्ठानका उपाध्यक्ष ऋषभ घिमिरेले गराउनुभयो। 

भानु जयन्तीको अवसरमा प्रतिष्ठानले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ। आगामी श्रावण ६ गतेसम्म प्रतिष्ठानका विभिन्न कार्यक्रम योजनामा रहेका छन्।