• १३ साउन २०८१, आइतबार

आइतबार प्रधानमन्त्री नियुक्त हुने

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, असार २९ गते । आइतबार नयाँ प्रधानमन्त्रीको नियुक्ति हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारण गर्नुभएको आइतबारको समयसीमा पछि प्रधानमन्त्रीको नियुक्ति हुने छ । 

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो, ‘‘भोलि दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्छ ।’’

राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि प्रधानमन्त्रीमा दावी पेश गर्ने समय निर्धारण गर्नुभएको छ । उहाँको आह्वान अनुसार, नेपाली काँग्रेस र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आग्रहसहित राष्ट्रपतिसमक्ष शुक्रबार राति नै दाबी पेश गरिसक्नुभएको छ । शपथ कार्यक्रम भने सोमबार मात्र हुने सम्भावना छ । 

प्रतिनिधिसभामा पहिलो ठुलो दल काँग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले १६६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी पेश गर्नुभएको छ । संविधानको धारा ७६ (२) अनुसार उहाँले सो पदका लागि दावी पेश गर्नुभएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद बैठकमा विश्वासको मत प्राप्त गर्न असफल हुनुभएपछि नयाँ प्रधानमन्त्री नियुक्त प्रक्रिया सुरु भएको हो । काँग्रेस–एमालेले नयाँ प्रधानमन्त्रीको नियुक्त भएलगत्तै मन्त्रीहरुलाई सरकारमा पठाउने गरी गृहकार्यमा जुट्नु भएको छ ।