• १२ साउन २०८१, शनिबार

नेपालगन्जमा भानुजयन्ती मनाइयो

blog

भानु जयन्तीको अवसरमा नेपालगन्जमा निकालिएको र्याली।तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २९ गते। राष्ट्रिय विभूति एवं आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको अवसरमा नेपालगन्जमा शनिबार विभिन्न कार्यक्रमको आयोजना गरेर जन्मजयन्ती मनाइएको छ ।

भानुभक्त चोक तथा व्यवस्थापन समिति, महेन्द्र पुस्तकालय र भेरी साहित्य समाज केन्द्रीय समितिको संयुक्त आयोजनामा आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण, प्रभातफेरी र विचार गोष्ठीको आयोजना गरेर भानु जयन्ती मनाइएको महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवले बताउनुभयो।

उहाँले बाँकेका वरिष्ठ साहित्यकारहरू लगायत अन्य साहित्यप्रेमीहरु समेतको सहभागिता र उपस्थितिमा स्थानीय भानुभक्त चोकमा रहेको आदिकवि आचार्यको सालिकमा माल्यार्पण गरिएको जनाउँदै त्यसपछि प्रभातफेरी र विचार गोष्ठी गरिएको बताउनुभयो।

विचार गोष्ठीमा आदिकविको तस्बिरमा माल्यार्पण तथा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत कुमार रेग्मीले आदिकवि भानुभक्तले नेपाली भाषा तथा साहित्यको क्षेत्रमा गर्नुभएको योगदानको चर्चा गर्दै भाषा, साहित्य र संस्कृति सभ्यताको पहिचान भएकाले संरक्षण, संवर्द्धनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा साहित्यकार मनि अर्याल, मा. इन्द्र भण्डारी, किरण आचार्य, महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादव, कृष्णप्रसाद श्रेष्ठ लगायतले नेपाली साहित्य र भाषाको विकासमा आदिकवि आचार्यले गर्नुभएको योगदानको चर्चा गर्नुभयो।

सो अवसरमा विभिन्न साहित्यकारले आफ्नो रचना वाचन गर्नुभएको थियो।