• १२ मंसिर २०८१, बुधबार

अबुँवा–बिर्दी–सेरा सडक अबरुद्ध

blog

गोरखाको अबुँवा–बिर्दी–सेरा सडकखण्ड ।

गुणबहादुर रोका

सुलीकोट, असार २९ गते । गोरखाको पालुङटार नगरपालिका र गोरखा नगरपालिका सीमामा शनिबार बिहान ११ बजे पहिरो जाँदा अबुँवा–बिर्दी–सेरा सडकखण्ड अवरुद्ध भएको छ । 

बिहीबारदेखि परेको अविरल वर्षाका कारण शनिबार बिहान ९ बजे गोरखा नगरपालिका –१३ को भट्टाबेशीमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । भट्टाबेशीमा माथिबाट झरेको चट्टानसहितको पहिरोले सडकमा ठुला ढुङ्गा र माटोले सडक ढाकिएको छ । त्यस पहिरोमा परी कुनै मानवीय क्षति नभएको गोरखा नगरपालिकाले जनाएको छ ।

धेरै ठाउँमा पहिरो गएकाले गोरखा नगरपालिका र पालुङटार नगरपालिका कार्यालयको जेसिबी प्रयोग गरी पहिरो हटाउने प्रयास भइरहेको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिनुभयो । 

त्यस पहिरोले २५ मिटर बाटो अवरुद्ध भएको छ । पहिरो ५० मिटरमाथिबाट खसेर अवरुद्ध भएको थियो । अहिले त्यस क्षेत्रबाट आबत–जाबत गर्ने सवारी साधन तथा सर्बसाधरण बिहान ९ बजेबाट रोकिएका छन् । गोरखा नगरपालिकाले शनिबार सूचना जारी गर्दै सो सडकखण्ड भएर यात्रा नगर्न अपिल गरेको छ ।

सो सडक खण्डमा गोरखा सदरमुकामदेखि तनहुँको आँबुखैरनी साथै डुम्रे र लम्जुङबाट सवारी साधनहरू आबत–जाबत गर्ने गरेको पालुङटार नगरपालिका –९ का वडा अध्यक्ष भेषराज पाण्डेले बताउनुभयो । 

अहिले त्यस क्षेत्रमा गएको पहिरो पन्छाउन नेपाली सेना, नेपाल प्रहरी टोलीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको गोरखा नगरपालिकाले जनाएको छ ।