• १० मंसिर २०८१, सोमबार

लुप्त मनले उघाएको तृष्णा

blog

मनको शून्य र मनोरम भाव कसैले जान्दैन । कहिलेकाहीँ नसोचेको कुरा मनमा आएर अनायास डेरा जमाएर बस्छ । एउटा आकाशमा निलो, रातो, पहेँलो, सेतो र कहिले इन्द्रेणी जस्तै सप्तरङ्गी भएर । यस्तै विचार एउटा सानो बीज हो जीवनका लागि; जसलाई बचाउन सकियो भने कालान्तरमा वृक्षको रूप धारण गर्छ । डालीले शीतलता प्रदान गर्ने र जराले रसातल चुम्ने बनाउनका लागि सानोमा मल, जल र घेराबारा गर्नु पर्छ । यति माया गरेर हुर्काएको बिरुवाले अनि मात्र निरन्तर यथेष्ट फल, अक्सिजन र शीतलता प्रदान गर्छ ।

सफा हुँदा टल्किएको सेतो घामले पसिनाको महक फैलाउँछ । कालोले वर्षा गराएर मैलोलाई सफा बनाउँछ । अझ भनौँ लह लह अन्न बाला झुलाउनका लागि आकाश कालो बनेर बर्सिनु पर्छ । रातो सगर डढे खडेरीको सङ्केत गर्छ । निलो वर्षापछि सङ्लिएको आकाश हो । आकाश मनको चैतन्य हो, धर्तीका लागि । मनले आफूलाई यसरी बारम्बार तुलना गर्छ । यही कारण हो, कहिले भावमा अनि कहिले वेदना बोकेर बहकिने ।

मनले सदैव बोक्नुपर्ने करुणा हो । कहिलेकाहीँ मनले रोष र ईष्र्यालाई बोकेर हिँड्छ । थाहा छ यो जीवनका लागि अधिक भार हो भन्ने । यौवन र ऊर्जा  छ भन्दैमा मनलाई अशान्त पार्ने भार बोक्न नहुने हो तर मैँ हुँ भन्ने आत्मविश्वासका कारण गरिएको यो गल्तीले निर्दोष शरीरलाई कहाँ पु¥याएर पल्टाउने हो कसैलाई थाहा छैन । 

अघि मनमा बोकेको अधिक रिसका कारण अहिले हरेक पाइलामा होस पु¥याउनुपर्ने भएको छ । अघि निस्किएका शब्दको अधीनमा अहिले जिब्रो शान्त छ । पहिले नै शान्त बसेको भए अहिले आफ्नो बयान दिन कति सहज हुने थियो । हरे ! लोभ र रोषले यहाँ के के भोग्नु परिरहेको छ । फेरि पनि अधिक लोभ र रोष गर्न छाड्दैनन् मनहरू । 

पहिला जे त होला भनेर बोलिएको वाक्यले रोष साधेर खप्नु छैन । आफ्नो बचाउका लागि हरेक कदममा सतर्कता अपनाउनु परेको छ । रिस त मनमा उब्जिएको थियो तर पीडा शरीरभरि फैलिएको वेग मनले बोकिरहेको छ । मस्तिष्कको भारका कारण शरीर तातेको छ । मन उद्वेलित भएको छ । अहिले यी सबै अङ्गलाई पहिलाको अवस्थामा फर्काउनका लागि अघि अतिरिक्त कमाएको पैसाले उपचार खर्च धान्न सक्दैन । 

बाटोमा भेटेको चौतारोमा विश्राम गरेर चिसो पानी पिए पनि अलिकति हिँड्नेबित्तिकै फेरि शरीर तात्छ । हिँड्दा हिँड्दै दुई दिनको बाटो चार दिन लागिसक्यो । अझै गन्तव्यमा पुग्न सकिएको छैन । उता निर्धारित समयमा गर्नुपर्ने काम गर्न नसकेका कारण बारम्बार फोन आइरहेको छ । कार्यालयबाट जागिर बर्खास्त हुने चेतावनी आइसक्यो । यो सबै सुनेर बाहिर चिसो सिरेटो चलेपछि मनको तापव्रmम बढेर मस्तिष्कलाई गर्मीले सताएको छ । अहिले मन के चाहन्छ ? शरीर भने यो सबै सामानलाई एउटा अँध्यारो कुनामा थुपारेर झ्यालढोका उघारेर आनन्दले एक निद्रा निदाउन चाहन्छ । देख्नु भो त मनको आयतन ।

बाटोमा पानीका धारा आउँछन् । चौतारीमा वरपिपलका पात नाचिरहेका छन् । चराहरू डालीमा शीतल तापिरहेछन् । कतै सिमल र कतै चिमाल फुलेको देखिन्छ । कतै नीरकमलले रङ फेरिरहेको छ । तल नदी एकै बहावमा निरन्तर बगिरहेको छ । नाङ्गै भएर केटाकेटी बाँकटे हानिरहेका छन् । कोही माछा मारिरहेका छन् । सबै सबै शान्त छन् । बेचैनी बोकेर हिँडेको मात्र यो मनको चालक छ । 

प्रकृतिले सबैलाई बराबर बाँडेर दिएको छ; रुखले अक्सिजन, धराले हावापानी र अन्न । सबैसँग एउटै मन छ । मनको यो भाव पनि बराबर होला । चालक पनि उसैको उपज हो । अहिले आफ्नै कारण मनको सिकार भएको छ । 

चरा उड्छन् प्वाँख भएर । प्वाँखबिना पनि वेचैनी मन उडिरहेको छ कमिलाको प्वाँख भएर । कतै लोभमा, कतै अतृप्त चाहनामा । अनि कतै अरू जस्तै र कतै अरूभन्दा फरक बन्नका लागि । यो आशा हो कि अभिलाषा ऊ जान्दैन । दुःखको मुहान यही हो । लोभको अतृप्त चाहनाले नै मन रोगी भएको छ । रोगी मनले कसरी स्वस्थ शरीरलाई नियन्त्रण गर्छ । त्यही भएर हो, मनले मस्तिष्कलाई नियन्त्रण गर्न नसकेको । जब मन र मस्तिष्क दुवै अनियन्त्रित हुन्छन्, मोडमा कसरी मोडिन्छ स्टेरिङ र ब्रेक फेल भएको गाडी ?

रोकेर राखेको मन सामान लादेको गाडी जस्तै चक्कामा भार पारिरहेको छ । भारी बिसाउनका लागि पनि त गन्तव्य पुग्नै पर्छ । यो मनले बोकेको भारी बिसाउनलाई त त्याग्नु पर्छ लोभ र लिनु पर्छ मनको आनन्द । यति नभएसम्म कसरी प्राप्त गर्छ मनको शान्ति र प्रकृतिको आनन्द ?

यात्रामा भेटिएको एउटा भिखारीले मनसँग एक रुपियाँ माग्यो । उसले राम्ररी अनुहार पनि नहेरी १० रुपियाँ दियो । भिखारीले हाँसेर उसलाई भन्यो– मूर्ख मान्छे ! एक रुपियाँ माग्नेलाई १० रुपियाँ दिन्छौ, फेरि मनलाई बढी भार राखेर अशान्त पार्छौ ? प्रश्न हावामा आयो कि कानमा, मन झस्कियो । 

जादु जस्तै उसले रूप बदलेर बोल्यो । मनले मेरो प्रतिछाया हो कि अर्को कुनै मान्छे, आफैँलाई चिनेन । तनाव झेल्दै गएको मन र आत्तिएको मस्तिष्कले ठम्याएन आफ्नै हातमा च्यापिरहेको १० रुपियाँको नोट । पल्टाएर हे¥यो उस्तै छ, जस्तो उसले आफ्नोअगाडि मूर्तिमा चढाएर राखेको थियो । सोच्यो, मनको भान होला भन्ने । 

सँगै हिँडेका हजारौँ यात्री आफूलाई उछिनेर अगाडि गइसके । विपरीत दिशाबाट आएका यात्रीको नजिक हुँदा आएको हावाको सिरेटो घरि घरि कानमा ठोसिन्छ । अब निद्रा भगाउने यही एउटा उपाय मात्र छ । यसरी बेला बेला सिरेटोले कानमा नहान्ने हो भने ऊ कतिबेला निदाउँछ र कहाँ झार्छ बोकिरहेको भारीसँगै एउटा अधमरो जीवन । उद्वेलितबाट निस्सार भएर ।

अहो ! सचेत प्राणीको चेतना कति शुष्क हुन्छ ? मैले भर्खर भिखारीसँग गरेको संवाद के थियो ? अझै मेरो चेतना आएन । मनसँग एक झोक फेरि पौँठेजोरी खेल्छ । अवनतिको मूल कारण यही हो भन्ने थाहा छ तर पनि यो मनलाई नियन्त्रण गर्न सक्दैन । आफ्नो दोष थोपार्नका लागि आँखालाई इसारा गर्छ । आँखा चाहिँ संवादमा लाग्यो भने उसको बाटो भुलिन्छ भनेर कुनै जवाफ नदिई शान्त रहन्छ । अघि यात्रामा देखिएको एउटा ठुलो सिमलको रुख झैँ; जो सयौँ वर्षदेखि खेपिरहेको छ हावाहुरी र बर्से भेलको कहर । 

एउटा रुख स्थिर भएर बर्सौंसम्म एकै स्थानमा अडिन सक्छ । त्यहीँ आफूलाई फैलाउन सक्छ । फुलाउन सक्छ र आफ्नो परिचय कायम गर्छ तर यो मन एकैछिनमा हिमालको हिउँ भेट्न खोज्छ । फेरि एकै निमेषमा समुद्रको गहिराइ नाप्न चाहन्छ । थचक्क एकै स्थानमा बसेर अडिग रहन नसक्ने पार्टी परिवर्तन गरिरहने नेता जस्तो । कस्तो उपलब्धि र अर्थविहीन दौडिरहेको । 

केही हराएको छैन भने पाउने लोभ किन गर्नु ? पूरा ब्रह्माण्ड पाएको छ सिर्जनाका लागि, जहाँ चेतना जगाए मात्र पनि आफूलाई बचाउन सकिन्छ । यत्रो ज्ञान भएको तिम्रो चैतन्य किन निदाएको । महात्माको हातमा नभएको सौभाग्य तिम्रोमा कसरी आउन सक्छ । मनको संवादमा मनले मस्तिष्कलाई भन्न किन सक्दैन । मस्तिष्कले मनलाई पाता फर्काएर लडाउन नसकेर किन छाडा छोडेको ? प्रश्नहरूले जसरी उत्तर खोजे पनि यहाँ परीक्षामा जस्तो एउटा प्रश्न बनाउन कठिन भएर हजारौँ उत्तर पाउन सहज भए जस्तो छैन । यहाँ नियमितताभन्दा आकस्मिकता अगाडि बढिसकेको छ । 

ए ! मनको चालक तैँले अभ्यस्त भएर यात्रुले थाहा नपाउने गरी गियर परिवर्तन गरे जस्तै आफ्नो चाहनालाई कसैले थाहा नपाउने गरी परिवर्तन गर्न किन सक्दैनस् ? के तँलाई केत्तुकेको फूलमा सौन्दर्य हुँदैन भनेर थाहा छैन ? कि लुप्त बसेर निरन्तर रोषको खेती गरिरहन्छस् । आफैँले आफूलाई भ्रममा राखेर । मनको चालक भने जति गन्तव्य नजिक आउँदै छ, ऊ उति पर पर पुगिसकेको छ ।