• १३ साउन २०८१, आइतबार

‘समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब ’

blog

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । फाइल तस्बिर

काठमाडौँ, असार २८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा समृद्धिका लागि राजनीतिक नेतृत्वलाई सकारात्मक दबाब दिन जरुरी रहेको बताउनुभएको छ । प्वाइन्ट मिडिया प्रालिले आज यहाँ आयोजना गरेको ‘समृद्धि बहस’ उदघाटन गर्दै उहाँले समृद्धि प्राप्तिका लागि राजनीतिक दलले नीति, कार्यक्रम र योजना कसरी अघि बढिरहेका छन् भनेर हेर्नुपर्ने बेला आएको बताउनुभएको हो ।

“राजनीतिक दलले मुलुकको उद्योग, कृषि, पर्यटन, कृषि, पूर्वाधारको विकासलगायतमा कस्ता नीति लिएका छन्, त्यसको भरमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ”, उहाँले भन्नुभयो । भौतिक पूर्वाधारको विकास नभए समृद्धिलाई अगाडि बढाउन नसकिने उहाँको भनाइ छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिका बारेमा सबै क्षेत्रबाट छलफल र बहस चलाउन जरुरी रहेको उल्लेख गर्नुभयो । समृद्ध मुलुक निर्माणका लागि सबै शक्ति एकजुट हुनुपर्ने उहाँले बताउनुभयो ।

प्वाइन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नवीन काफ्लेले राजनीतिक दलको एजेण्डा आर्थिक एजेण्डा बन्न नसकेको बताउनुभयो । “जटिल बन्दै गएको अर्थतन्त्रलाई लयमा फर्काउन यस्ता बहस र छलफलले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । कार्यक्रममा नेपालको पर्यटन विकास र मौद्रिक नीतिका बारेमा सरोकारवाला निकायसँग बहस गरिएको थियो । रासस