• १२ साउन २०८१, शनिबार

देश र जनताको समस्या समाधान हुनुपर्छ : सांसद सुवाल

blog

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल । तस्बिर : रासस

काठमाडौँ, असार २८ गते । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारमा जाने राजनीतिक दलले देश र जनताको समस्या समाधान नभई सत्ताका लागि मात्र समीकरण हुन उचित नरहेको बताउनुभएको छ । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले जनता र देशको हितविपरीत संसदमा बहुमत पुगे पनि जनताले स्वीकार नगर्नेसमेत बताउनुभयो । सांसद सुवालले संसद हाजिर गर्ने र बोल्ने थलो मात्रै बनेको तर सर्वसाधारणको समस्या सम्बोधन गर्न ध्यान नदिइएको जिकिर गर्नुभयो । 

“सरकार अस्थिर हुनुका कारण देश र जनताको समस्या समाधान हुन सक्दैन । अनियमितताका घटना र प्रतिवेदन आए पनि दोषीलाई कारबाही हुन सकेको छैन, भ्रष्टाचार बढ्नु चिन्ताको विषय हो”, उहाँले भन्नुभयो,“नेपालसँगको सिमानामा भारतीय अतिक्रमणको समस्या समाधान हुन नसक्नु अर्को चिन्ताको विषय हो । शिक्षालाई उत्पादनशील बनाउन सकिएको छैन । हाम्रो ध्यान सरकार बनाउने र विघटनमा मात्र गइरहेको छ ।” 

भ्रष्टाचार नरोकिनु, सहकारी ठगी तथा सुन तस्करलाई कारबाही नगर्नु र आयात प्रतिस्थापन नगर्नु दुःखद भएको भन्दै सुवालले आगामी सरकारले यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । रासस