• १२ साउन २०८१, शनिबार

नाम्जुङ-तीनमाने सडकखण्डको चिसोपानी सडक अवरुद्ध

blog

गुणबहादुर रोका 

सुलीकोट, असार २८ गते । गोरखाको शहिद लखन गाउँपालिकाको नाम्जुङ तीनमाने सडकखण्डको चिसापानीमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। दुई दिनसम्म परेको अविरल वर्षाका कारण शुक्रबार बिहान ९ बजेबाट सडक अवरुद्ध भएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनुभयो । 

उहाँका अनुसार त्यस क्षेत्रमा माथिबाट आएको ठुलो चट्टान सहितको पहिरोले सडकमा ठुला ढुङ्गा र माटोले सडक ढाकिएको छ । पहिरोमा परी कुनै मानवीय क्षति नभएको पनि उहाँले बताउनुभयो । पहिरोलाई गाउँपालिकाको सहयोगमा मेसिन लगाएर हटाउने प्रयास भइरहेको उहाँको भनाइ छ । अहिले त्यस ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय वासीहरुको सहयोगमा पहिरो हटाउन पहल भइरहेको छ । 

पहिरोले ७ मिटर बाटो अवरुद्ध भएको छ । पहिरो ४० मिटर माथिबाट खसेर अवरुद्ध भएको थियो । अहिले त्यस क्षेत्रबाट आवतजावत गर्ने सवारीसाधन तथा सर्वसाधारण बिहान ९ बजेबाट रोकिएका छन् । गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै उक्त सडकखण्ड भएर यात्रा नगर्न अपिल गरेको छ। 

अहिले पहिरो पन्छाउन नेपाली सेना, नेपाल प्रहरीको टोलीको सहयोगमा पहिरो पन्छाउन लागि परेको गाउँपालिकाले जनाएको छ । अबको केही बेरमै सवारीसाधन तथा सर्वसाधारणलाई हिँडडुल गर्न सहज गराउने प्रयास भइरहेको गाउँपालिकाले जनाएको छ । गोरखामा अत्यधिक वर्षाका कारण सडक, गोठ, घर पहिरोले क्षति पुर्‍याएको छ ।