• ३ साउन २०८१, बिहिबार

‘प्रकोपमा पहिलो उद्धारकर्ता आफैँ हुन्छ’

blog

काठमाडौं, साउन ३ गते । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले प्रकोपमा पहिलो उद्धारकर्ता आफैँ हुने बताउनुभएको छ ।

गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले सबैभन्दा पहिले आफैँ सुरक्षित र सतर्क हुनुपर्ने भन्नुहुँदै नजिकको छिमेकी वा प्रहरी दोस्रो तथा तेस्रो स्थानका उद्धारकर्ताका रुपमा रहने कुरा मनन गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “सुरक्षित हुन खोज्दाखोज्दै पहिराे गयो, विपद् भयो भने छिमेकी वा प्रहरी भनेको दोस्रो स्थानमा पर्छ । त्यसैले सबै आम नागरिकमा हाम्रो आग्रह के छ भने ‘नो योर प्लेस’ भन्छ । आफू कहाँ, कस्तो ठाउँमा बस्नुभएको छ ? पहाडको खोँचमा, डुबान हुने ठाउँमा, ढिस्कोमा, पहिला–पहिला पहिरो गइरहेको ठाउँमा, कति संवेदनशील क्षेत्रमा छु ? भनेर सचेत हुनुपर्दछ ।” यससँग सम्बन्धित निकायले उपलब्ध गराउने प्रारम्भिक चेतावनी (अर्ली वार्निङ) र सूचनाहरु लिइरहनुपर्ने उहाँको भनाइ छ ।

उहाँले आपत्कालीन अवस्थामा ‘गो ब्याक’ को पूर्वतयारी गर्नुपर्ने बताउनुभयो । अर्थात् अत्यावश्यक औषधी, एकजोर कपडा, अमूल्य वस्तु तथा सामानलाई तत्काल लिएर जान सक्ने तरिकाले पूर्व तयारी अवस्थामा रहनुपर्ने भनाइ राख्नुभयो ।

उहाँले हिमाली तथा पहाडी क्षेत्रमा बाहेक विपद् परेको स्थानमा पाँचदेखि दश मिनेटभित्र प्रहरी पुग्नेगरी तयारी अगाडि बढेको बताउनुभयो । सडक अवरुद्ध, भित्री सडकमा समस्या भएका स्थानमा उद्धारका लागि पुग्न समय लाग्ने गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “कति विकट, कति समस्याग्रस्त ठाउँमा हो त्यसमा फरक पर्छ । त्यसैले पहाडको ठाउँमा यति नै समय भनेर भन्न सक्ने अवस्था छैन । तर प्रत्येक गाउँ, वडामा सानोठुलो जनशक्ति राखेर बसेको हुनाले त्यहाँ संयोजन गर्ने, स्थानीय परिचालन गर्ने, आफू खटिने काम प्रहरीले गर्छ ।”

उहाँले प्रहरी नागरिकको समीपमा रहेर काम गर्ने सङ्गठन भएकाले सोही अनुरुपको तयारी अवस्थामा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल प्रहरी नागरिकको सबैभन्दा समीपमा रहेर काम गर्ने, नागरिकसँगसँगै काम गर्ने सङ्गठन भएकाले सबै प्रहरीलाई तत्काल खटिन स्ट्याण्डबाइ राखेका छौं । आफूमा भएका साधन, स्रोत, इन्धन, जनशक्ति सबैलाई तयारी अवस्थामा राखेर हामीले उनीहरुलाई खटाएका पनि छौं । नेपाल प्रहरीले अरु सुरक्षा निकायसँग पनि समन्वय गर्दै ससाना घटनाहरुमा एकल रुपमा र एकल रुपमा सम्पन्न हुन नसक्ने किसिमको जुन दुर्घटना हुन्छ त्यसमा नेपाली सेना, नागरिकको समेत सहयोग लिएर काम गरिरहेको छ ।” यसरी खटिने जनशक्तिलाई तालिम प्रदान गरिएको उहाँको भनाइ छ ।

उहाँले बाढी आएका बेला दाउरा, मुढा सङ्कलन गर्नु जोखिमपूर्ण भएकोले यसो नगर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “बाढी आउFदा घरायसी प्रयोजनका लागि भनेर दाउरा सङ्कलन गर्ने क्रममा पनि केहीको ज्यान गएको छ । पहाडमा ढलेपलेका रुख, मुढा बगाएर ल्याउँछ । सुरक्षाका हिसाबले यसरी जान कसैलाई पनि सुझाव दिन सकिँदैन ।”

भिडियो : मनोजरत्न शाही/केशब गुरुङ

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।