• १३ साउन २०८१, आइतबार

इजरायली प्रतिनिधिमण्डल गाजा युद्धविराम वार्ताका लागि कायरो जाने

blog

जेरूसेलम, असार २८ गते । गाजामा यसै साता भएको युद्धविराम वार्तालाई निरन्तरता दिन इजरायली प्रतिनिधिमण्डल बिहीबार साँझ इजिप्टको कायरोतर्फ गएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले जनाएको छ ।

कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “इजरायलको शिन बेट सुरक्षा निकायका निर्देशक रोनेन बार र इजरायली रक्षा बलका प्रतिनिधिसहितको प्रतिनिधिमण्डल वार्तालाई निरन्तरता दिन कायरो प्रस्थान गरेको छ ।”

इजरायलको सरकारी स्वामित्वमा रहेको कान टिभी न्युजका अनुसार गाजापट्टी र इजिप्टबिचको सीमामा रहेको फिलाडेल्फिया करिडोरबाट इजरायली सेनाको सम्भावित फिर्ती र राफा क्रसिङ पुनः सञ्चालन गर्ने विषयमा वार्ता केन्द्रित हुनेछ ।

इजरायली सेनाले मे महिनाको सुरुमा प्यालेस्टिनी क्षेत्रमाथि कब्जा जमाउनुअघि मे महिनाको सुरुमा गाजा बन्द गर्नुअघि इजिप्टबाट गाजा प्रवेशका लागि फिलाडेल्फिया नाका महत्वपूर्ण प्रवेश विन्दु थियो ।

संयुक्त राज्य अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्तासँग दोहामा भएको चारपक्षीय वार्तापछि इजरायली वार्ता टोली भर्खरै फर्केको छ ।

नेतन्याहूको कार्यालयले भनेको छ, “बैठकमा इजरायली बन्धकलाई फिर्ता गर्ने सम्झौताका धारा र युद्धका सबै उद्देश्य हासिल हुने सुनिश्चित गर्दै रूपरेखा कार्यान्वयन गर्ने तरिकाहरूबारे छलफल भएको छ ।’’

हमासले बिहीबार पनि एक विज्ञप्ति जारी गर्दै इजरायलले वर्तमान चरणको वार्तालाई रोकेको र गाजामा बन्धक बनाइएका बन्धकहरूको रिहाईको बदलामा युद्धविरामसम्बन्धी सम्झौतामा पुग्ने प्रयासलाई विफल पार्ने प्रयास गरेको आरोप लगाएको छ । समूहले दोहा वार्तामा भएका नयाँ घटनाक्रमका बारेमा मध्यस्थकर्ताबाट कुनै अद्यावधिक जानकारी नआएको जनाएको छ । रासस/एएफपी