• १२ साउन २०८१, शनिबार

‘प्रतिबद्धता अनुसार काम भइरहेकोमा सन्तुष्ट छौंँ

blog

सिराहामा रहेका १७ वटा पालिकामध्ये गोलबजार नगरपालिका पूर्वपश्चिम लोकमार्गमा पर्छ । २०७१ सालमा स्थापना भएको यो नगरपालिका असनपुर, आशोपुर बल्कवा, बेतौना लालपुर, चन्द्रलालपुर, मुक्सार, चन्द्रोदयपुर र जमदह गाउँ विकास समिति मिलेर बनेको छ । १०४.५ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस नगरपालिकाको उत्तरी भेग चुरे र लोकमार्गदेखि दक्षिणमा समथर भूभाग छ । १३ वटा वडा रहेको यस पालिकाको सहरी क्षेत्रका रूपमा गोलबजार निकै पहिलेदेखि चिनिएको छ । पूर्वमा धनगडीमाई नगरपालिका, पश्चिममा मिर्चैया नगरपालिका, दक्षिणमा नरहा र अर्नमा गाउँपालिकासँग सिमाना जोडिएको छ । दोस्रो पटकको प्रयासमा नेकपा (एमाले) बाट नगरप्रमुखमा निर्वाचित हुनुभएका श्यामकुमार श्रेष्ठसँग नगरपालिकाको विकासबारे गोरखापत्र दैनिकका लहान समाचारदाता जीवछ यादवले गरेका कुराकानी : 

सिराहाकै व्यापारिक केन्द्र मानिएको गोलबजार नगरपालिकाको नगरप्रमुखका रूपमा निर्वाचित भएको दुई वर्षलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ ? 

गोलबजार नगरपालिकामा रहेका राजनीतिक दलहरूको बिचमा चुनाव सकिएपछि सबै मिलेर काम गराँै भने संस्कार रहँदै आइरहेकोले काम गर्न सहज महसुस भएको छ । आपसी सहमति, सहकार्य र एकताको वातावरण बनाएर काम गर्दा विकास हुँदो रहेछ भन्ने कुरा प्रमाणित भइरहेको छ । विकासका योजना छनोट गर्ने बेलादेखि कार्यान्वयन गर्दासम्म सबैको सहयोग र साथ चाहिन्छ भने मूल ध्येय बनाएर अगाडि बढेपछि काम गर्न कुनै जटिलता नआउने थप सिकाइ भएको छ । 

नगरपालिकाबाट शिक्षामा गरिएको लगानी अनुसार कस्तो परिणाम आइरहेको छ ? 

शिक्षा हरेक विकासको जननी भएकाले नगरपालिकालाई शिक्षाको ‘हब’ बनाउनुपर्ने आवाज उठिरहेकाले यसतर्फ नगरपालिका शिक्षा समितिले घनीभूत रूपमा काम गरिरहेको छ । यहाँ ३५ वटा सामुदायिक विद्यालयमध्ये छ माध्यमिक विद्यालय, १८ प्राथमिक विद्यालय, पाँच मदरसा र छ वटा आधारभूत विद्यालय छन् । यस वर्षको एसइईमा अधिकतम ६० प्रतिशत र न्यूनतम ४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शिक्षामा अझै व्यापक सुधार गर्न १ कक्षा एक शिक्षक, हरेक विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना, जस्तापातामुक्त विद्यालय भवन निर्माणका लागि यस वर्ष सङ्घ र प्रदेशबाट आउने बजेटबाहेक नगरपालिकाबाट एक करोड ९८ लाख रुपियाँ विनियोजन गरेका छौँ । बालविकास शिक्षिका र विद्यालय कर्मचारीको तलब वृद्धि गर्न ३० लाख रुपियाँ र नगर स्वयंसेवक शिक्षक भर्नाका लागि ९३ लाख ६५ हजार रुपियाँ छुट्याएका छौँ । 

स्वास्थ्य क्षेत्रमा के के प्रगति भइरहेको छ ? 

नगरपालिकाको उत्तरी भेगमा पर्ने वडाहरूमा स्वास्थ्य सेवा दिनका लागि स्वास्थ्य चौकीमार्फत प्राथमिक स्वास्थ्य सेवाको प्रभावकारिता बढाएका छौँ । ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि थप शिविर र दीर्घरोगीलाई उपचार र औषधी निःशुल्क गर्ने, नगर अस्पताललाई व्यवस्थित बनाउन र थप स्वास्थ्यसम्बन्धी गोष्ठी, शिविर सञ्चालनलगायतका कार्यक्रम गर्न यस वर्ष ३५ लाख रकम विनियोजन गरिएको छ । १३ वटा वडामा रहेका एक सय स्वास्थ्य स्वयंसेविकालाई प्रतिमहिना तीन हजार रुपियाँको दरले दिइने गरी तिस लाख रुपियाँ छुट्टै बजेटको व्यवस्था गरिएको छ । पाठेघर खस्ने महिलाका लागि निःशुल्क उपचार, औषधी खरिद तथा सर्जिकल उपकरण खरिदका लागिसमेत थप कार्यक्रम अगाडि बढाएका छौँ । 

नगरको किसानका लागि के के योजना अगाडि बढाएको छ ? 

सही प्रश्न गर्नुभयो । च्ुनावमा किसान, मजदुर, उद्योगी, व्यापारी सबै वर्गका मतदातासँग गरेका प्रतिबद्धतामध्ये किसानसँग गरेका प्रतिबद्धता पूरा गर्ने विषयलाई प्राथमिकतामा राखेर अगाडि बढेका छौँ । लगभग पैँतिस सय किसानको विद्युत् मिटरको महसुल नगरपालिकाबाट अहिलेसम्म ६० लाख रुपियाँ भुक्तानी भइसकेको छ । विद्युत् मिटरको महसुल भुक्तानी र थप तीन सयभन्दा बढी बोरिङ जडान गरेपछि किसान उत्साही भएका छन् । गोलबजार तरकारी उत्पादनको पनि पकेट क्षेत्र भएकाले ठुलो शीतभण्डार निर्माणका लागि प्रदेश र सङ्घबाट पहल भइरहेको छ । तरकारी बिव्रmीका लागि लाग्ने हाटबजार व्यवस्थापनका लागि अदालती झमेला देखिएको छ । निजी जग्गामा लाग्दै आइरहेको हाटबजारलाई व्यवस्थित गर्न समझदारीका लागि पहल जारी छ । जग्गासम्बन्धी समस्या समाधान भएलगत्तै हाटबजार व्यवस्थापन हुने छ । 

भौतिक पूर्वाधार र खानेपानीको समस्या समाधानको अवस्था कस्तो छ ? 

पालिकाको १३ वटै वडामा बर्सेनि एक करोडदेखि दुई करोड रुपियाँसम्मको लागतमा आरसिसी ढलान, करिब १० किलोमिटर पक्की सडक निर्माण कार्य सम्पन्न भएको छ । खानेपानीतर्फ एक करोड ६० लाख रुपियाँ यस वर्ष पनि विनियोजन गरिएको छ । एक घर एक धारा कार्यक्रम वडा नं. १, २, ३, ७ र १० मा सुरु भएको छ । हिलो र धुलोमुक्त सडक, घर घरमा खानेपानीको प्रबन्ध हाम्रो अभियान नै छ । उत्तरी भेगमा खोलाको पानी खाएर बाँच्नुपर्ने बाध्यताको अन्त्य गर्न लागेका छौँ । 

पर्यटन विकासका लागि भएका पहलबारे पनि स्पष्ट गरिदिनुस् न ? 

नगरमा मुडी खाँडी, आकाश गङ्गा र धमिनी स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न एक करोड रुपियाँ विनियोजन गरिएको छ । पर्यटकीय क्षेत्रसम्म जान सडक, खानेपानी, मनोरञ्जन धर्मशाला, अतिथिगृह र होटेल तथा होमस्टे सञ्चालनका लागि गुरुयोजना बनाउन यस वर्ष प्राथमिकतामा राखिएको छ । सहरी र ग्रामीण क्षेत्रको सन्तुलित विकास र दीर्घकालीन विकासलाई सफल बनाउन ठोस कार्यक्रम ल्याउने पक्षमा काम गरिरहेको छ । 

न्यायिक समितिले गरेका काम कति प्रभावकारी छन् ? 

भौतिक विकास मात्रै विकास होइन, सामाजिक न्याय पनि प्रमुख विकास रहेकोले न्याय सम्पादनका लागि नगर उपप्रमुख मान्ती साहको नेतृत्वमा सन्तोषजनक कार्य भएको छ । यस आर्थिक वर्षमा मात्रै १०५ वटा निवेदनको फस्र्योट भएको छ । न्याय सम्पादनका लागि कानुन व्यवसायीलाई बोलाएर प्रशिक्षण र मेलमिलापको कार्यक्रमलाई समेत वडास्तरमा विस्तार गर्न लागेका छौँ ।