काठमाडौँ, असार २७ गते । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ । जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद हुनुहुन्छ । जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बिच भएको समझदारीअनुरूप नयाँ गठन हुने सरकारलाई समर्थन गर्ने समेत निर्णय पनि गरेको छ । “प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई हामी (पार्टी) विश्वासको मत दिदैनौँ, अब बन्ने नयाँ गठबन्धनलाई समर्थन गरेर जाने निर्णय भएको छ”, प्रवक्ता यादवले भन्नुभयो ।उहाँले कांग्रेस र एमालेबिचको नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकारलाई स्वीकार गरेकाले नयाँ बन्ने सङ्घीय सरकारको नेतृत्वलाई स्विकार्ने निर्णय भएको बताउनुभयो ।
राप्रपाले पनि विश्वासको मत नदिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । सो पार्टीको आज भएको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले माग्नु भएको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो । रासस