• १३ साउन २०८१, आइतबार

पाकिस्तान मुस्लिम लिग–नवाज सरकार चलाउन असमर्थ : राष्ट्रपति जरदारी

blog

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी

इस्लामाबाद, असार २७ गते । पन्जाबमा पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) को नेतृत्वले सङ्घीय र प्रान्तीय सरकारहरूसम्बन्धी बैठकमा राष्ट्रपति आसिफ अलि जरदारीसमक्ष गम्भीर चिन्ता व्यक्त गरेको स्रोतहरूलाई उद्धृत गर्दै एआरआई न्युजले बिहीबार बताएको छ ।

घटनाक्रमको जानकारी राख्नेहरूका अनुसार पिपिपी पन्जाब नेतृत्वले बैठकमा आफ्नो अधिकारबाट ‘वञ्चित’ भइरहेको र सङ्घीय तथा प्रान्तीय सरकारहरूले यसमा काम नगरिरहेको बतायो ।

पन्जाब पिपिपी टिकट पाउनेहरूले आफूहरूको व्यक्तिगत सिटहरूमा समस्या सम्बोधन नगरिएको बताएका छन् । नेताहरूले राष्ट्रपति जरदारीलाई भनेका छन्, “हामीलाई पनि मत प्राप्त भएको छ र हाम्रो निर्वाचन क्षेत्रका मतदाताहरूलाई सन्तुष्ट बनाउनुपर्छ ।”

राष्ट्रपतिले पिपिपी पन्जाब नेतृत्वको समस्याहरू समाधान गरिने वाचा गर्नुभयो । “पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) सरकार चलाउन असमर्थ छ, अब म आफैँ मैदानमा फर्केको छु र इस्लामाबाददेखि लाहोरसम्म उत्थान कार्यहरू गरिनेछ”, एआरवाई न्युजका अनुसार उहाँले भन्नुभयो, “कुनै पनि राजनीतिक दलले पाकिस्तान पिपुल्स पार्टीसँग प्रतिस्पर्धा गर्न सक्तैनन ।”

पिपिपी सरकारहरू स्थापना गर्न र ढाल्न दुवैमा कुशल रहेको उहाँले जोड दिनुभयो । यद्यपि उहाँले आफ्नो पार्टी सदस्यहरूसँग द्वन्द्व समाधानमा सहयोग गर्न र वार्ता गर्न आग्रह गर्नुभयो । रासस/एएफपी