• १२ साउन २०८१, शनिबार

गोरखाका विपद् जोखिम क्षेत्रको पहिचान

blog

गुणबहादुर रोका

सुलीकोट, असार २७ गते । गोरखा जिल्लामा सम्भावित विपद् जोखिम क्षेत्रहरूको पहिचान गरिएको छ । जिल्लाका ११ वटा पालिका क्षेत्रभित्रका २२५ स्थानलाई विपद्को उच्च जोखिम क्षेत्रको रूपमा पहिचान गरिएको हो । 

बुधबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको जिल्ला व्यवस्थापन समितिको बैठकले पहिरो जोखिम क्षेत्रहरूको पहिचान गर्दै सतर्कता अपनाउन आग्रह समेत गरेको छ । 

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अनुसार गोरखा नगरपालिकाका ४१ स्थान विपद्को उच्च जोखिम क्षेत्रको पहिचान गरिएको छ भने पालुङटार नगरपालिकाको ९ स्थान जोखिम क्षेत्रको पहिचान गर्दै सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो । 

त्यसैगरी सहिद लखन गाउँपालिकाका १९ स्थान, भीमसेन थापा गाउँपालिकाका १० स्थान, धार्चे गाउँपालिकाका १६ स्थान, चुमनुब्री गाउँपालिकाका १५ स्थान, अजिरकोट गाउँपालिकाका १५ स्थान, सिरानचोक गाउँपालिकाको १४ स्थान, बारपाक सुलिकोट गाउँपालिकाको १९ स्थान, आरुघाटको गाउँपालिकाको ४० स्थान र गण्डकी गाउँपालिकाको २५ स्थानमा जोखिम क्षेत्र पहिचान भएको विपद् व्यवस्थापन समितिले जानकारी गराएको छ । 

जोखिम क्षेत्रको बासिन्दाहरूलाई स्थानान्तरण गर्ने स्थानको समेत पहिचान गरिएको छ । विपदमा परेकाहरूलाई बास व्यवस्थापनको लागि गोरखा नगरपालिका–६ को खेलकुद मैदान, गोरखा नगरपालिका–१० छेपेटार र गोरखा नगरपालिका–१३ गोरखाकाली खेलकुद मैदानमा उनीहरूलाई स्थानान्तरण गर्न सकिने व्यवस्था गरिएको छ । 

सम्भावित जोखिम क्षेत्रको पहिचानका लागि जेठ महिनामा पालिका भित्रका प्राविधिकहरूको टोली खटाएर रिर्पोट तयार पारिएको आधारमा जिल्ला व्यवस्थापन समितिको बैठक बसेर सम्भावित घटनाहरूको बारेमा सतर्कता रहन आग्रह गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । 

त्यसै अनुरूप गोरखामा दुई दिनदेखि लगातार भइरहेका वर्षाका कारण गोरखाको दरौदी नदीको बहाव अत्यधिक मात्रामा बढेको छ । जल तथा मौसम विभागले बिहीबार सूचना जारी गरेर गोरखाको दरौदी खोला नयाँ साँघुमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ । जल सतह बढ्दो क्रममा रहेको हुँदा दरौदी नदीको तटीय क्षेत्रमा माछा मार्ने, बगाएको दाउरा टिप्ने दरौदी नदीको वरपर रहनेहरूलाई दिउँसो सम्म सतर्कता अपनाउन पनि जल तथा मौसम विभागले आग्रह गरेको छ ।