• १३ साउन २०८१, आइतबार

विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

blog

फाइल तस्बिर

कठमाडौँ, असार २७ गते । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका आफ्नो दलका सांसदलाई निर्देशन दिएको छ । 

प्रधानमन्त्री दाहालले यही असार २८ गते बिहान ११ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको हो । 

पार्टीका प्रमुख सचेतक रमेश लेखकले उक्त निर्देशन जारी गर्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षसमेत प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लाग्नुभएको हो । उहाँलाई समर्थन गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि उहाँले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । संसदको सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो एमालेले यही असार १७ गते आलोपालो सरकारको नेतृत्व लिने गरी नयाँ सरकार गठनको सहमति गरेका छन् । रासस