• १३ साउन २०८१, आइतबार

खोनपुर झोलुङ्गे पुल प्रयोगविहीन

blog

खोनपुर झोलुङ्गे पुलको काम नलाग्ने संरचना ।

अविनाश चौधरी

धनगढी, असार २७ गते । कैलालीको कैलारी गाउँपालिका–३ स्थित खोनपुर झोलुङ्गे पुल निर्माणका लागि डेढ करोड खर्च भएको छ । हाइड्रोलोजी, भौगर्भिक अवस्था समेतको परीक्षणसहितका वातावरणीय प्रभाव मूल्याङ्कन नगर्दा ठुलो रकम खर्चेर बनाइएको संरचना प्रयोगमा आउन नसकेको हो । 

पुल निर्माणका लागि बनाइएको एउटा पिल्लरलाई नदीले बगाएको थियो । बाँकी रहेको अर्को पिल्लर प्रयोगविहीन बनेको छ । पिल्लर एकातिर बनाइएकोमा पछिल्लो समय नदी अर्कोतिरबाट बग्न थालेपछि भएको पिल्लर पनि प्रयोगमा नआएको हो । 

एक करोड ६६ लाख ९० हजार रुपियाँ खर्चेर पुलको नौ वटा पिल्लर समेतका संरचना बनाइएको थियो । तर, सो संरचना प्रयोगमा नआउँदा लगानी खेर गएको छ । बाढीले पिल्लर बगाएपछि बाँकी संरचना पनि पुल निर्माणका लागि उपयुक्त नरहेको सङ्घीय सहरी विकास मन्त्रालय अन्तर्गतको पीटीएपी टीबी एकाइको प्रतिनिधिसहितको टोलीले स्थलगत अध्ययन गरी निष्कर्ष निकालेको छ । टोलीले नदीको प्रकृति अध्ययन गर्दा बहुपिल्लरयुक्त ६०० मिटर लामो पुल आवश्यक पर्ने र नदी नियन्त्रण गर्दा धेरै लागत लाग्ने अवस्थामा ठेक्का रद्द गर्न सुझाव दिएको छ । 

सो ठाउँमा पूर्वाधार विकास कार्यालयमार्फत मोहना नदीमाथि २५९ मिटर लामो झोलुङ्गे पुल निर्माणको कार्य अगाडि बढाइएको थियो । २०७९ साउन १८ गते आएको बाढीले पुलको एकतर्फको पिल्लर बगाएपछि झोलुङ्गे पुल बन्न सकेन । लगानी खेर गएको छ । 

खोनपुर झोलुङ्गे पुल निर्माणका लागि २०७६ कात्तिकमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक निर्माण व्यवसायीसँग दुई करोड ३८ लाख ४३ हजारमा ठेक्का सम्झौता गरिएको थियो । पुल निर्माण अघिका आधारभूत विषयहरुको पर्याप्त अध्ययन विश्लेषण नगरेको कारण हाल खोनपुर पुल बन्न सक्ने अवस्था नदेखिएको महालेखा परीक्षकको कार्यालयले ठहर गरेको छ । 

खरिद पूर्वका कार्य जिम्मेवारीपूर्वक नगर्दा पुल अलपत्र बनेको महालेखा परीक्षकको छैटौं वार्षिक प्रतिवेदनमा उल्लेख छ । अलपत्र रहेको पुल निर्माण कार्यको सम्बन्धमा सार्वजनिक खरिद कानुन बमोजिम आवश्यक निर्णय गर्नुपर्ने महालेखा परीक्षकले सुझाव दिएको छ । 

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ मा सार्वजनिक निकायले निर्माणस्थलमा बन्ने संरचना तथा संरचनाको दिगोपना सम्बनधमा हाइड्रोलोजी, भौगर्भिक अवस्थासमेतको परीक्षणसहितको वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्ने व्यवस्था छ । 

मोहना नदीमा खोनपुर झोलुङ्गे पुल नभएपछि स्थानीयले आवतजावतमा सास्ती खेप्दै आएका छन् । पुल नहुँदा मोहना नदी पारि रहेको शिवरत्नपुर गाउँका स्थानीय जोखिम मोलेर डुङ्गाको भरमा नदी तर्ने गरेका छन् । पुल नहुँदा स्थानीयले ठुलो समस्या खेपिरहेको जनाउँदै कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले पुल बनाउनका लागि गाउँपालिकाले पहल गरिरहेको बताउनुभयो ।