• १३ साउन २०८१, आइतबार

जनसङ्ख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञको सुझाव

blog

काठमाडौँ, असार २७ गते । नयाँ बन्ने जनसङ्ख्या नीति कार्यान्वयनमा जोड दिन विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् । बिहीबार जनसङ्ख्या दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले २०७८ सालको जनगणनाअनुसार सरकारले नयाँ जनसङ्ख्या नीति बनाइरहेको भन्दै नीतिको कार्यान्वयनमा जोड दिन आग्रह गरेका हुन् ।

उनीहरूले विगतमा बनेका जनसङ्ख्या नीतिहरू पनि कार्यान्वयन नहुँदा प्रभावकारी बन्न नसकेको उदाहरण दिँदै सरकारले नीति कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव ऋतु पन्तले जनसङ्ख्या अहिले लाभांशको रूपमा लिइरहेको उल्लेख गर्नुहुँदै जनसङ्ख्याको लाभांश लिन नसकेको बताउनुभयो । उहाँले जनसङ्ख्याको लाभांश अहिले नै प्रयोग गर्न नसक्ने अवस्थामा रहेको बताउनुभयो ।

उपसचिव पन्तले युवाहरू विदेश पलायन भइरहेको र भएका युवाहरू पनि देशका लागि प्रयोग भइरहेको छ की छैन भन्नेबारेमा अध्ययन हुन आवश्यक रहेको जानकारी दिनुभयो । उहाँले युवाहरू विदेशमा गएर योगदान गरिरहेको तर नेपालमा युवाहरूले रेमिट्यान्सको मात्रै योगदान दिइरहेको बताउनुभयो । उहाँले तत्कालको फाइदाका लागि रेसमट्यान्सबाट देश चलाउने सोच रहेपनि भविष्यलाई फाइदाजनक नरहेको जिकिर गर्नुभयो ।

उहाँले बाह्य र आन्तरिक बसाइसराइको समस्या विकराल बन्दै गएको बताउनुभयो । मन्त्रालयले जनसङ्ख्या नीति बनाइरहेको भन्दै जनसङ्ख्या नीति एउटा वर्ग र मन्त्रालयको मात्रै नहुने बताउनुभयो । उहाँले देशको स्रोत नै जनसङ्ख्या भएको उल्लेख गर्दै विकासका काम जनसङ्ख्यामा निर्भर रहेर हुनुपर्ने बताउनुभयो । बनाइएका जनसङ्ख्या नीतिहरूको कार्यान्वयनमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा बोल्नुहुँदै प्रा. डा. योगेन्द्रबहादुर गुरुङले जनसङ्ख्या आफैँ स्रोत, साधन र साध्य भएको बताउनुभयो । उहाँले मानवीय स्रोतको सदुपयोग गरी मानवले मानव हितका लागि विकास गर्न आवश्यक रहेको जिकिर गर्नुभयो । राजनीतिक, सामाजिक नीति तथा योजना बनाउँदा जनसङ्ख्याकै आवश्यक हुने बताउनुभयो । उहाँले धेरै नीति योजनाहरू भनेजस्तो सफल नहुने कारण जनसङ्ख्याकै सही मूल्याङ्कन नहुनु रहेको बताउनुभयो ।

यसैगरी, एजिङ नेपालका निर्देशक प्रकाश गौतमले जनसङ्ख्याका हिसाबमा नेपालले ज्येष्ठ नागरिकका विषयमा चिन्ता गर्नुपर्ने कारण नरहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको जनसङ्ख्या नेपालमा ए लाख २५ हजार मात्रै रहेको जानकारी दिनुभयो । औसत आयु बढ्दै जाँदा रिटायरमेण्ट र औसत आयु हेर्दा २० वर्ष आयु बढाएको र २० वर्ष आयुलाई कसरी इंगेज गर्ने भन्नेकुरा महत्त्वपूर्ण रहेको बताउनुभयो ।

त्यस्तै, नेपाल जनसङ्ख्या सङ्घका अध्यक्ष डा.पदमप्रसाद खतिवडाले जनसङ्ख्या व्यवस्थापनको योजना बनाउँदा बनाउँदै आफैँ नियन्त्रण हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले जनसङ्ख्याको अवस्थालाई अध्ययन गरेर मात्रै नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै अन्य वक्ताहरूले बाह्य बसाइसराइको अवस्था विकराल हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका गर्नुभएको छ । जनसङ्ख्याको वितरणमा असमानता रहेको उहाँहरूले बताउनुभएको छ । उहाँहरूले नेपालको जनसाङ्ख्यिक लाभांश पूर्ण उपयोग हुन नसकेको, अव्यवस्थित सहरीकरणको मारमा नागरिकहरू परेको भनाइ व्यक्त गर्नुभयो ।