• १३ साउन २०८१, आइतबार

ललित स्मृति एन्फा यु-१८ युथ लिगको पुरस्कार राशी घोषणा

blog

काठमाडौँ, असार २६ गते । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा यही असार ३० गतेदेखि हुने ललित स्मृति एन्फा यु-१८ युथ लिगको विजेताले एक लाख प्राप्त गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष तथा लिग संयोजक दीपक खतिवडाले लिग विजेताले एक लाख तथा उपविजेतालाई ५० हजार प्रदान गरिने घोषणा गर्नुभयो । 

उहाँका अनुसार विधागततर्फ उत्कृष्ट हुनेलाई १५ हजार प्रदान गरिनेछ । संयोजक खतिवडाले प्रतियोगिताको तयारीबापत सहभागी क्लबले तीन लाख ५० हजार प्राप्त गरिने र लिगका सम्पूर्ण खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आयोजना गरिने जानकारी दिनुभयो । यही असार ३० गतेदेखि सुरु हुने लिगको उदघाटन खेलमा न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन् । 

उक्त खेल दिउँसो १ बजे सुरु हुनेछ । प्रतियोगितामा गत संस्करणमा ‘ए’ डिभिजन खेलेका एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब र मच्छिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्ने छन् । यसैगरी मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सङ्कटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब पनि प्रतिस्पर्धामा सहभागी हुने आयोजकले जनाएको छ । रासस