• १२ साउन २०८१, शनिबार

सैन्य आधारभूत तालिम सम्पन्न

blog

कोकिला भण्डारी 

धनकुटा, असार २६ गते । श्री नम्बर २ बाहिनी अड्डा हिले ब्यारेक, धनकुटाको सी.सं ११ सैन्य आधारभूत तालिमको दीक्षान्त समारोह धनकुटाको हिलेमा सम्पन्न भएको छ । 

सैन्य परेड ग्राउण्डमा जग्गा लिँदै झण्डा टोलीको आगमन पश्चात् तालिम प्रमुख शिक्षकद्वारा झण्डा सलामी, कवाज निरीक्षण, सैन्य कवाज प्रदर्शन, विभिन्न विधाहरूमा उत्कृष्ट हुने सैन्यहरूलाई पुरस्कार वितरण, सैन्य सुशोभन लगायतको कार्यक्रमको साथमा उक्त अन्तिम दलेल कवाज धनकुटामा सम्पन्न भएको हो । 



महेन्द्र सैनिक शिविर, हिले ब्यारेक धनकुटामा अवस्थित  नम्बर २ बाहिनी अड्डामा  २०८० भाद्र ३ गतेबाट सुरु भएको सी.सं. ११ सैन्य आधार तालिम बुधबार सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि नम्बर २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रामकाजी थापाले उक्त तालिमका शिक्षार्थी सैन्यद्वारा प्रदर्शन भएको अन्तिम दलेल कवाजको निरीक्षण पश्चात्, उहाँले उक्त अन्तिम दलेल कवाजलाई सम्बोधन गर्नुहुँदै नवनियुक्त सिपाहीहरूलाई लामो अवधिको आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिनुभयो ।

उहाँले दीक्षित भएका १०२ पुरुष र १०२ महिला गरी जम्मा २०४ जना नवनियुक्त तालिमे सिपाहीहरूलाई नेपाली सेनाको विभिन्न युनिटहरूमा रिक्त रहेको सिपाही दर्जामा नियुक्त भई राष्ट्र, संस्था र जनता प्रति समर्पित, बफादार, ईमान्दार, अनुशासित रूपमा नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई आत्मसाथ गरी जस्तोसुकै विषम् परिस्थितिमा समेत विचलित नभई सुम्पिएको जिम्मेवारी बहन गर्न सक्षम हुने विश्वासका साथ आगामी सैनिक जीवनमा सफलताको लागि शुभकामना दिनुभयो । 

सैन्य शिक्षार्थी सहभागी भएको उक्त तालिममा शिक्षार्थी सैन्य जवानहरूले सैनिक पेसागत सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गरेको कुरालाई जोड दिँदै नेपाली सेनाको गौरवमय इतिहास र सैनिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै आफ्नो हित भन्दा अगाडि नेपाल र नेपाली जनताको सेवामा समर्पित हुने प्रेरणा दिनुका साथै आफ्ना सन्ततिलाई नेपाली सेनाको सिपाही भई राष्ट्र सेवामा लाग्न हौसला दिनुभएकोमा तालिमे सिपाहीका अभिभावकलाई समेत विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

राष्ट्रियता, राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा सुरक्षा र राष्ट्रवासीको हक हित र अधिकारको संरक्षणका लागि प्रतिबद्ध नेपाली सेनाको प्रमुख दायित्व तथा भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीहरूलाई कुशलतापूर्वक सामना गर्नसक्ने दक्ष पेशेवर सिपाही तयार गर्ने उद्देश्यका साथ करिब ११ महिने तालिम सञ्चालन गरेको नम्बर २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी रामकाजी थापाले बताउनुभयो । 

प्रमुख अतिथि बाहिनी पति सहायक रथी थापाले उक्त तालिममा सर्वोकृष्ट हुने सैन्य दिनेश अधिकारीलाई श्रेष्ठताका प्रतीक स्वरूप खुकुरीद्वारा पुरस्कृत गर्नुभएको थियो भने महिलातर्फ प्रथम हुने सैन्य चन्द्र कुमारी राई लगायत अन्य विभिन्न विधाहरूमा प्रथम हुने सैन्यहरूलाई पुरस्कार वितरण गर्नु भएको थियो । 

उक्त दीक्षान्त समारोहमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङ, जिल्ला अदालत धनकुटाका जिल्ला न्यायाधीश नारायण प्रसाद पराजुली, सन्चयकोष धनकुटाका दीपक मणि रिसाल लगायत जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, समाजसेवी, पत्रकार, अन्य अतिथि तथा नवनियुक्त तालिमेसिपाहीका अभिभावक एवम् आफन्तजन र उक्त वाहिनी अड्डाका सकल दर्जा गरी करिब ७५० जनाको उपस्थिति थियो ।