• १६ भदौ २०८१, आइतबार

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा सङ्घीय सांसदलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण

blog

काठमाडौँ, असार २६ गते । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडको आयोजनामा सङ्घीय संसद्का सदस्यहरूका लागि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधबार सञ्चालन भएको छ ।

सङ्घीय संसद्को सहकार्य एवम् विफक्याब संस्थाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा.चिरञ्जीवी नेपाल र नेपाल बैंकर्स सङ्घका पूर्व अध्यक्ष भुवनकुमार दाहालले सङ्घीय सांसदहरूलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिको रूपमा सहजीकरण गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले यस्तो कार्यक्रमको आवश्यकता  बढेको बताउनुहुँदै वित्तीय साक्षरतालाई विद्यालय तहको पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत खनालले रा.बा.बैङ्कको वर्तमान अवस्था एवम् बैकले अर्थतन्त्रमा गरेको योगदानको बारेमा प्रकाश पार्नुभएको थियो । नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर नेपालले वित्तीय नीति, मौद्रिक नीति तथा अन्य आर्थिक मुद्दाका बारेमा तथा नेपाल बैंकर्स सङ्घका पूर्व अध्यक्ष दाहालले व्यक्तिगत वित्तपोषण र बजेटिङ्गका बारेमा प्रकाश पार्नुभएको थियो ।

उक्त कार्यक्रममा पैसाको महत्त्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्त्व, ब्याजदर, बैङ्क, उत्पादन र रोजगारीबिचको सम्बन्ध लगायतका विषयमा सङ्घीय सांसदहरूले जिज्ञासा राख्नुभएको थियो ।

उक्त कार्यक्रममा सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्का, उपसचिव नागेन्द्र चौधरी, बैङ्कका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, विफक्याब संस्थाका प्रमुख मनोज रेग्मी लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैङ्कको हाल ७७ जिल्लामा २८८ वटा शाखा कार्यालय, ३०८ वटा एटिएम र ७१ वटा एक्सटेन्सन काउण्टर रहेको छ ।