• ७ कात्तिक २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादीको ह्वीप

blog

माओवादी केन्द्रको संसदीय दल बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित अन्य नेताहरु । तस्बिर : रासस

काठमाडौँ, असार २६ गते । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ । 

बुधवार बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले  प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन निर्देशन (ह्वीप) दिने गर्ने निर्णय गरेको हो । 

त्यस्तै, बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरूलाई अपिल गरेको छ । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा वामपन्थी शक्तिहरूको बिचमा एकता र समाजवादी मोर्चालाई पनि अगाडि बढाउने विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुभएको बताउनु भयो । 

उहाँले भन्नुभयो– ‘‘हामी २८ गते विश्वासको मत संविधानका व्यवस्था अनुसार लिने । विश्वासको मतका लागि हाम्रो दलको तर्फबाट ह्वीप जारी गर्ने सँगसँगै संविधान कार्यान्वयनका लागि, संविधान रक्षाका लागि र नेपाली जनताको लागि हित चाहने प्रतिनिधिसभाका सबै राजनीतिक दल, स्वतन्त्र माननीय सदस्यहरूलाई पनि विश्वासको मतको पक्षमा मत दिन अपिल गर्ने, आह्वान गर्ने, कुराकानी गर्ने भन्ने निर्णय भएको छ । विश्वासको मतमा आएको परिणामको आधारमा एकताबद्ध भएर जनताको पक्षमा, संविधान कार्यान्वयनको पक्षमा, सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा दृढताका साथ लड्ने भन्ने विषयवस्तु भयो । हाम्रो पार्टीको तर्फबाट अध्यक्षले जसरी वामपन्थीहरू बिचको एकतालाई अगाडि बढाउने बारेमा समाजवादी मोर्चालाई अगाडि बढाउने बारेमा जुन कुराकानी भएको थियो । कहीँ न कहीँ यो के हुने हो भन्ने स्थिति थियो । अहिले यसले धेरै स्पष्ट बनाएको छ । अब हामी सशक्तका साथ प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रस्तुत भएर अगाडि बढ्ने भन्ने निर्णय भएको छ ।’’

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सरकारलाई निरन्तरता दिने वचन दिएर काँग्रेससँग सरकार बनाउने सहमति गरेको ब्रिफिङ गर्नुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो । पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६(३) बमोजिमको सरकार बन्ने दाबी पनि गर्नुभयो ।