• ७ कात्तिक २०८१, बुधबार

डुबानमा फसेका चार जनाको उद्धार

blog

डुबानमा परेकालाई उद्धार गर्दै सशस्त्र प्रहरी ।

रमेश पौडेल

पोखरा, असार २६ गते । पोखरा महानगर-२७ स्थित दिपाङ्ग तालमा पानीको सतह बढेपछि एकै परिवारका ४ जना डुबानमा फसेका थिए । सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वार्टर कास्कीबाट खटिएको विपद् उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेको छ ।

गुल्मी स्थायी बसोबास भई हाल पोखरा २७ दिपाङ्ग ताल नजिकै सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै परिवारका ५४ वर्षीय राम बहादुर अधिकारी, ३९ वर्षीय सृजना अधिकारी, ६ वर्षका आयुष अधिकारी र ४ वर्षकी आयुष्का अधिकारीलाई उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुण कुमार शर्माले जानकारी दिनुभयो । उनीहरूलाई डुब्न लागेको अवस्थामा स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेको सूचनाका आधारमा बिहान ८ बजे उद्धार गरिएको उहाँले बताउनुभयो । 

त्यसैगरी बुधबार बिहान ४ बजे पोखरा– २७ सहेलापाटामा ब्लकले बनेको घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने एक जनालाई सकुशल उद्धार गरिएको एसपी शर्माले जानकारी दिनुभयो । ५१ वर्षीय मन बहादुर थापाको जस्ताले छाएको १ तले कच्ची घर माथिबाट पहिरो खसी पुरिँदा ५० वर्षकी कमला थापालाई डाँडाको नाक प्रहरी र स्थानीयले सकुशल उद्धार गरेको छ ।  

निजका अन्दाजी २२ वर्षका छोरा भीम बहादुर थापालाई सशस्त्र प्रहरी बल कालिका गण, नेपाली सेना कृष्णदल गण र नेपाल प्रहरीको संयुक्त टोलीले मृत अवस्थामा निजको शव उद्धार गरेको समेत गणपति एसपी शर्माले जानकारी दिनुभयो ।