• १२ साउन २०८१, शनिबार

पुस्तक समीक्षा : अमेरिका जान चाहनेलाई उपयोगी पुस्तक ‘सपना र यथार्थमा अमेरिका’

blog

तस्बिर : रासस

काठमाडौँ, असार २६ गते । विपन्न र अविकसित देशका नागरिकका लागि सपनाको काल्पनिक संसार स्वर्गजस्तो लाग्ने अमेरिकाका बारेमा एउटा दृष्टिविहीनले हात्ती छामेजस्तो फरक-फरक चर्चा र व्याख्या हुने गर्दछ । विश्व मानचित्रमा जनसङ्ख्या र भूगोलमा तेस्रो ठुलो देश अमेरिका पाँच सय वर्षको इतिहासमा अनेक आरोहअवरोह पार गर्दै विश्वको महाशक्ति राष्ट्र बनेको छ । 

करिब सात दशकदेखि धेरै नेपालीको गन्तव्य बनेको अमेरिका पछिल्लो दुई दशकयता झनै बढी आकर्षणको केन्द्र बनेको छ । एकातिर उच्चशिक्षाको अवसरमा जाने खोजिरहेका छन् भने अमेरिकाले डिभी योजना चलाएपछि भाग्यवश धेरै नेपाली यस ढोकाबाट पनि तानिएका छन् । अमेरिका जाने र सुन्दर भविष्यको सपना देख्ने नेपालीहरुको भीडमध्येका एक हुनुहुन्छ  सानबाबु सिलवाल । लामो समय नेपालमा पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आउनुभएका उहाँले सन् २००५ देखि अमेरिकालाई आफ्नो कर्मथलो बनाउनु भएको छ ।

अमेरिकामा रहँदा आफूले खाएका अनेक हन्डरहरूको चर्चा मात्र गर्नुभएको छैन, भविष्यमा कसैले त्यस्तो अवस्थासँग जुध्न नपरोस् भनेर बाटो देखाउने काम ‘सपना र यथार्थमा अमेरिकामा’ नामक पुस्तकमार्फत गर्नुभएको छ । पुस्तक दुई सय ८३ पृष्ठको र नौ एकाइमा विभक्त छ । पुस्तकमा आर्थिक धरातलमा रहेर अमेरिकालाई चिनाउँदै अमेरिकामा रहेका नेपालीहरूको अनुभव, अमेरिकामा नयाँ जीवन सुरु गर्ने मार्गनिर्देशन, त्यहाँ उपलब्ध अवसरहरू, मुद्रा व्यवस्थापन, करलगायत विषयहरू समेटिएका छन् । 

पुस्तकमा अमेरिकी कानुनसम्बद्ध केही मुद्दाहरू, सडक सुरक्षा र नियमका प्रसङ्गहरू, संयुक्त राज्य अमेरिका र नेपालबिचको सम्बद्धजस्ता विविध विषयका बारेमा पनि जानकारी गराइएको छ । पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरूको अवस्था, अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरू, अमेरिकामा अवसर, कर प्रणाली, कानुनसम्बन्धी कुराहरू, सडक सुरक्षा र नियम, नेपालसँग अन्तरसम्बन्धलगायत विभिन्न विषय समावेश गरिएको छ । कृतिमा अमेरिकी कानुन, यातायात, पर्यटन, न्यायालय, अर्थ व्यवस्थाको व्याख्या गरिएकाले अमेरिकी समाजबारे धेरै जानकारी पाउन सकिन्छ ।

विश्वका धेरै मानिसका निम्ति अमेरिका सपनाको देश बनेको छ र अमेरिका पुग्न सक्नुलाई मात्र पनि ठुलो सफलता ठान्नेहरूको नेपाली समाजमा झनै बढी रहेको छ । समृद्धिको सपना देखेर प्रवासमा हाम्फालेका जो कसैले पनि यस पुस्तकबाट लाभ लिन सक्ने छन् । अमेरिकी भूमिका सङ्घर्ष गरिरहेका नेपालीलाई पुस्तकले बाटो देखाएको छ । केही न केही आफूले निरन्तर मिहिनेत र सङ्घर्ष गरेर व्यावसायिक सफलतातिर उन्मुख भएको र यो क्रममा आफ्ना प्रेरणाका स्रोतहरूको उल्लेख गर्नुभएको छ । 

पुस्तकको बारेमा भूमिका लेख्नुभएका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मूलतः अमेरिका जाने सोच बनाउनुअघि यो कृतिका प्रत्येक अक्षर, शब्द, आशय अध्ययन गर्नु र अमेरिका पुगेपछि गहिरोसँग मनन गर्नु जरुरी छ भन्दै पुस्तकको महत्वलाई उजागर गर्नुभएको छ । यो पुस्तक अमेरिकामा रहेका हुन् वा भविष्यमा अमेरिकाको सपना देखेका नेपाली हुन् सबैका लागि ‘सिस्नेरी’ बन्न सक्छ भन्ने उहाँको भनाइ छ । त्यस्तै अर्का वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पनि आफ्नो भूमिकामा अमेरिकालाई नेपालीमा बुझ्न चाहनेहरूका निम्ति पुस्तक अत्यन्तै उपयोगी रहेको उल्लेख गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेले अमेरिकी समाजलाई लक्षित गरेर लेखिएको भए पनि अन्य क्षेत्रका मानिसका लागि समेत उत्तिकै उपयोगी हुनसक्ने विश्वास व्यक्त गर्नुभएको छ । 

गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य पाँच सय रुपियाँ रहेको छ । पुस्तक बिक्रीबाट आएको आम्दानीले लेखकले विपन्नहरुको निःशुल्क उपचारमा योगदान गर्न चाहनुभएको छ । समाजसेवामा अभिरुचि राख्ने लेखक अमेरिकामा रहँदा दुःखमा परेका नेपालीहरुलाई सहयोग गर्ने र मातृभूमिप्रति पनि उत्तिकै चिन्तित रहनुभएको पुस्तक पढ्दा धेरै दृष्टान्तहरुबाट थाहा हुन्छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गर्दै मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सत्कर्म, सत्प्रयास, सत्चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाइका लागि लागिपर्ने लेखकको प्रशंसा गर्नुभयोे ।

लेखक सिलवालले पुस्तकमा आफ्नो भनाइ राख्दै अमेरिका बसिरहेका, यहाँ आउँदै गरेका र भविष्यमा आउने सोच बनाएका नेपाली अमेरिकी र नेपालीलाई लक्षित गरी आफ्ना अनुभवहरुसमेत बाँड्ने उद्देश्यले पुस्तक लेखेको बताउनुहुन्छ । अवसरको खोजी गर्दै अमेरिका पुगेका तर चुनौती सामना गरिरहेका नेपालीलाई मार्गदर्शन र सहयोग गर्ने आफ्नो उद्देश्य रहेको बताउनुहुन्छ । उहाँले अमेरिकामा समस्या अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राती, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको कुरा पनि पुस्तकमा उल्लेख गर्नुभएको छ । हाल अमेरिकामा रहेका झन्डै पाँच लाख छन् । रासस